कञ्चनपुरको भीमदत्तनगरबाट दार्चुलातर्फ गइरहेको ना ५ ख १६८५ नंको यात्रुबाहक बस डडेल्धुराको मेलखर्कमा दुर्घटना हँदा सात जनाको मृत्यु हुनाका साथै ३५ जना घाइते भएका छन् । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक रामकुमार खनालले मृतकमध्ये चार जनाको सनाखत भइसकेको जानकारी दिनुभयो । सनाखत हुनेमा डडेल्धुराको जोगबुडाका राजमती धामी र धामखेतका डम्बर धामी तथा दार्चुलाको अपि नगरपालिकाका चरुली देवी धामी छन् ।
क्षेत्रीय प्रमुख खनालका अनुसार दुर्घटनामा परी महादेव भट्टको पनि मृत्यु भएको छ । मृतक भट्टको ठेगाना खुलेको छैन । खनालका अनुसार घाइतेलाई उपचारका लागि कैलालीको अत्तरिया पठाइएको छ । बस सडकबाट एक सय मि तल खसेको भए पनि दुर्घटनाका कारण खुल्न सकेको छैन । आज साँझ साढे ६ बजे भएको बस दुर्घटनास्थलमा प्रहरीको टोली घाइतेको उद्धारमा खटिएको छ । घटनाको विस्तृत विवरण आउन अझै बाँकी रहेको प्रहरीले जनाएको छ ।
डडेल्धुराको मेलखर्कमा बस दुर्घटना सातको मृत्यु






