बेलायततर्फ आउँदै गरेको डुङ्गा डुब्दा कम्तीमा २७ जनाको मृत्यु

लण्डन । बेलायत प्रवेश गर्न चाहने आप्रवासीहरू बोकेको डुङ्गा डुब्दा कम्तीमा २७ जनाको मृत्यु भएको छ।

बीबीसीका अनुसार यूके आउँदै गरेको डुँगा फ्रान्सको क्यालेनजिकै इङ्ग्लिश च्यानलमा डुबेको थियो । अन्तर्राष्ट्रिय आप्रवासन सङ्घ आईओएमका अनुसार उक्त दुर्घटना सन् २०१४ मा उसले अभिलेख राख्न थालेयता इङ्ग्लिश च्यानलमा भएको सबैभन्दा घातक हो।

फ्रान्सका गृहमन्त्री जेराल्ड डार्मानँले मृत्यु हुने मानिसमध्ये पाँच महिला र एक बालिका रहेका बताएका छन्। उनले दुई जनाको उद्धार गरिएको र एक जना अझै हराइरहेको बताएका छन्। बुधवार बेलुकी ३१ जनाको मृत्यु भएको भनिए पनि पछि त्यो सच्याइएको थियो। डुबेको डुङ्गामा ३४ यात्रु सवार थिए।

बेल्जियमको सीमानजिकै चार व्यक्तिलाई गिरफ्तार गरिएको बताउँदै गृहमन्त्री डार्मानँले भने, उनीहरूको तस्करी गर्ने यो समूहसँग सीधा सम्बन्ध भएको हाम्रो शङ्का छ। पाँचौँ सन्दिग्ध व्यक्ति पनि पक्राउ परेका छन्। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले घटनाबाट आफूले पीडाबोध भएको भएको भन्दै यूकेले मानवतस्करहरूलाई रोक्न कुनै कसर बाँकी नराख्ने बताए ।

बीबीसीका अनुसार बुधवार बेलुकी जोनसन र फ्रान्सका राष्ट्रपति एमानुएल मार्कोँले दुई देशबीचको जलमार्गबाट हुने तस्करी रोक्न र मानवतस्कर समूहहरूलाई मानव जीवन जोखिममा पार्नबाट रोक्न संयुक्त रूपमा कार्य गर्न सहमति गरेको यूकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

बुधवार दिउँसो एउटा माछा मार्ने डुङ्गाले केही मानिसहरू फ्रान्सनजिकै समुद्रमा देखेको सूचना दिएको थियो। फ्रान्स र ब्रिटेनका अधिकारीहरूले त्यसपछि उद्धार कार्य सुरु गरेका थिए।

जोनसनले मृत्युलाई विपत्ति भएको बताउँदै “हत्याबाट उन्मुक्ति पाउँदै आएका” मानवतस्करहरूको समूहलाई छिन्नभिन्न पार्नु महत्त्वपूर्ण रहेको बताएका छन्।