काठमाडौं । विनाशकारी भूकम्पपछि प्रभावित क्षेत्रमा पुगेर राहत र उद्धारमा खटिएको जानकारी दिन खुलामञ्चमै आयोजना गरेको विप्लव माओवादीको पत्रकार सम्मेलनमा एक उद्धारकर्मी निर्घात कुटिएका छन् ।
नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’कै उपस्थितिमा खुलामञ्चको पत्रकार सम्मेलन हेर्न आइपुगेका ‘अन द स्पट डिजाष्टर म्यानेजमेन्ट’ टिमका सदस्य सुदीप कुवँर विप्लवकै अगाडि निर्घात कुटिएका हुन् ।
किन पिटिए कुँवर ?
भूकम्प प्रभावित क्षेत्रमा आफूहरुले गरेको कामबारे जानकारी दिन भन्दै आयोजना गरिएको कार्यक्रममा नेकपा माओवादीका महासचिव विप्लवले जेठ महिना भित्रैमा नेपाल अर्कै ठाउँमा पुग्ने दावी गरिरहेका थिए ।
पत्रकार दीर्घा पछाडि उभिएका सर्वसाधारण विप्लवको जवाफप्रति सन्तुष्ट भएनन् । प्रश्नोत्तर भइरहेका बेला ‘प्रभावित क्षेत्रमा राहत पुग्न नसकेको बेला नयाँ नेपाल कसरी बन्ला’ भन्दै असन्तुष्टि जनाउँदा विप्लवका कार्यकर्ताहरु कुँवरमाथि जाइलागे ।
म निर्दोष छु : सुदीप
माओवादी कार्यकर्ताबाट कुटाई खाएर अस्पतालमा उपचार गराईरहेका सुदीपले आफू निर्दोष रहेको अनलाइनखबरलाई बताए । उनले अनलाइनखबरसँग भने, ‘मैले कुनै प्रश्न समेत गरेको थिइन, अर्को साथीले प्रश्न सोध्न खोज्दै थियो, माओवादी कार्यकर्ताहरु एक्कासी ममाथि जाइलागे ।’
source:online khaber











