लन्डन । गैर–आवासीय नेपाली संघ बेलायत (एनआरएनए) यूकेले प्रधानमन्त्री शेरबहादुर देउवासंग एक औपचारिक भेट गरेको छ । नेपाली राजदुतावास लण्डनमा आयोजित भेटमा बेलायतवासी नेपालीहरुको तर्फबाट एनआरएनए यूकेले एक ज्ञापन पत्र पनि पेश गरेको छ ।
बेलायतवासी नेपालीहरुको तर्फबाट एनआरएनए यूकेको पेश ज्ञापन पत्रमा नेपाली नागरिकताको निरन्तरता, गोर्खा मुद्दाको स्थायी समाधान, नेपाल–ब्रिटेन प्रत्यक्ष हवाई उडान सेवा पुनः सञ्चालन, विदेशमा रहेका नेपालीहरुले मतदानमा भाग लिन पाउने व्यवस्था र नेपालमा वैदेशिक लगानीमैत्री वातावरण बनाउन आग्रह गरिएको छ । संघको तर्फबाट उपाध्यक्ष गोविन्द खरेलले ज्ञापनपत्र वाचन गरेका थिए ।
सो अवसरमा प्रधानमन्त्री देउवाले गैरआवासीय नेपालीलाई वैदेशिक लगानी ल्याउन आह्वान गरे।
‘एनआरएनएलाई वैदेशिक लगानी ल्याउनका लागि सरकारले लगानीमैत्री वातावरण बनाएको छ’, प्रधानमन्त्री देउवाले भने, ‘अरू के सुविधा चाहिन्छ, त्यो दिन म तयार छु । एराइबल भिसाको सुविधा उपलब्ध गराइसकेको छ । भिसाका लागि झन्झट गर्नु पर्दैन ।’ अब नेपालबाटै भिसा लिन सकिने प्रधानमन्त्री देउवाले बताए । उनले भूपू गोर्खाको समस्या समाधानका लागि पनि आफू लाग्ने बताए ।
एनआरएनएले माग गरेजस्तो नेपाली नागरिकता प्राप्त गर्न संविधान नै बदल्नुपर्ने देउवाको भनाइ छ । त्यो तत्काल सम्भव नहुने देउवाले बताए ।
त्यसअघि एनआरएनए युकेले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको थियो । भूपू गोर्खा समस्या, नागरिकताको निरन्तरता, नेपाल–बेलायत हवाई सेवा, लगानीमैत्री वातावरण र बेलायतमा नेपालीहरू राखेको पैसा उच्च ब्याजमा नेपालमै राख्न पाउने र लैजान पाउने सहज वातावरण निर्माणका लागि आग्रह गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको थियो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ एनआरएनएका केन्द्रीय सल्लाहकार कुल आचार्य,एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर लगायत एनआरएनए युकेका पदाधिकारीको उपस्थिति थियो ।








