बेलायतको लाहुरे हुँ भन्दै युवतीलाई फसाउन खोज्ने व्यक्ति पक्राउ

काठमाडौं । बेलायतको लाहुरे हुँ भन्दै सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भोजपुरको साल्पासिलिछो गाउँपालिका घर भइ काठमाडौं बूढानीलकण्ठ नगरपालिका ० चुनिखेल बस्ने ३१ वर्षीय केदार राई रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनलाई सोमबार पक्राउ गरिएको हो ।

केदारले आफ्नै महिला साथीलाई गोर्खाली नामको आइडीबाट साथी बनाएर ठगेको महाशाखाले जनाएको छ । महाशाखामा अनुसार केदारले दुर्घटनामा आफ्नी श्रीमतीको ज्यान गएको, छोराछोरी बेलायतमा भएको र नेपालमा आमा बिरामी भएको भन्दै १ लाख ६० हजार रुपैयाँ बढि ठगेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

केदारले पीडित महिलाबाट सुनको बेरुवा औठी, सुनको लकेट सहितको सिक्री समेत लिएका खुलेको छ । केदारले पीडित महिलालाई आफूले माया गर्ने र आफैसँग बेलायत लैजाने भनेर प्रलोभनमा पार्ने गरेको पनि अनुसन्धानबाट खुलेको महाशाखाले जनाएको छ ।