तक्दीर अधिकारी
सिड्नी । नेपाली सोसाइटी अफ तास्मानियाले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा विशेष कार्यक्रम गर्ने भएको छ ।
नेपालका विशेषगरी ग्रामीण जिल्लामा रहेका विद्यालयहरुमा अध्ययनरत छात्राहरुलाई सेनेटरी किटहरु प्रदान गर्ने उद्धेश्यले अर्थ संकलन गर्नेगरी तीज विशेष कार्यक्रम गर्न लागिएको हो ।
४ सेप्टेम्बरमा होबार्टको मक्वारी स्ट्रिटमा रहेको सिटी हल ५७–६३ मा आयोजित उक्त कार्यक्रममा च्यारिटी सँगसगै नेपाली कला संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्धेश्यसहित तीजविशेष कार्यक्रम गर्न लागिएको समाजकी उपाध्यक्ष मेघना रावतले जानकारी दिइन् ।
कार्यक्रममा तास्मानियामा नेपाली महिलाहरुले गरिरहेका व्यवसायहरुलाई पनि प्रवैद्धन गर्ने लक्ष्य राखिएको छ ।
एनआरएनए अष्ट्रेलियासँग समन्वय गरी आयोजित उक्त कार्यक्रममा दर खाने तथा नाँचगान गर्ने व्यवस्था गरिएको छ । कार्यक्रममा प्रवेश गर्न १५ डलरको टिकट राखिएको छ । त्यस्तै विभिन्न रमाइला प्रतियोगिताहरु पनि रहने भएका छन् ।
उक्त कार्यक्रमलाई दुई दर्जन भन्दा बढी नेपाली संघसंस्थाहरुले साथसहयोग दिएका छन् भने यहाँ रहेका ३५ भन्दा बढी नेपाली व्यवसायहरुको प्रवद्र्धनको लक्ष्य समेत राखिएको छ ।
अष्ट्रेलियाका विभिन्न शहरहरुमा कोभिड महामारी बढ्दै गइरहेको अवस्थामा सरकारले तोकेका सबै मापदण्डहरु पालना गरेर कार्यक्रम गरिने उनको भनाई छ । यद्यपि अहिले तास्मानियामा कोभिडका कुनै विरामीहरु देखिएका छैनन् ।






