काठमाडौ, २१ बैशाख । महाविपत्तिमा सहयोग गर्न आएका छिमेकी राष्ट्रका केही सुरक्षा अधिकारीहरूले सहयोगभन्दा पीडा दिएको भन्दै नेपाली सुरक्षाकर्मीहरू असन्तुष्ट बनेका छन् । त्रिभुवन विमानस्थलमा भारतीय सुरक्षा अधिकारीहरूले नेपाली सुरक्षाकर्मीहरूलाई होच्याउन थालेपछि विमानस्थलस्थित हवाई निर्देशनालयका प्रमुख सुन्दर पुडासैनीले त्यसको रिपोर्ट जंगी अड्डास्थित प्रधानसेनापति गौरवशमशेर रानालाई गरेका थिए ।
भारतीय सञ्चारमाध्यमले पाकिस्तानबाट गाईको मासु आएको हल्ला फिजाएलगत्तै भारतीय एसरफोर्सका अधिकारीहरूले सामान चेकजाँच आफूहरूले गर्न पाउनुपर्ने भन्दै नेपाली सेनालाई अपशब्द प्रयोग गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार पाकिस्तानबाट आएको मासु गाईको नभई राँगाको भएको प्रमाणित भए पनि त्यसलाई वितरण गर्न रोक लगाइएको छ । हवाई निर्देशनालयमा भारतीय सञ्चारमाध्यमलाई समेत सहज प्रवेशको अनुमति दिइए पनि भारतीय पत्रकारले भावानात्मक ब्ल्याकमेलिङ गरिरहेका थिए । आफूहरूलाई सहज प्रवेश नदिए नेपाली सेनाले विमानस्थलमा भारतीय सञ्चारमाध्यमलाई प्रवेश निषेध गरेको बे्रकिङ समाचार प्रसारण गरिदिनेसम्मको धम्की दिँदै सहज प्रवेश गरेपछि नेपाली सेनाले त्यसको प्रतिवाद गरेको थियो । अहिले भने केही कम भएको विमानस्थल स्रोतले जनाएको छ ।
उद्धारको नाममा भारतीय एयसफोर्सले पोखरा विमानस्थललाई केन्द्र बनाएर ६ वटा हेलिकोप्टर खटाएको छ । ती हेलिकोप्टरहरू खासगरी गोरखाको प्रभावित क्षेत्रमा मात्र नभई सिन्धुपाल्चोक सोलु र दोलखामा केन्द्रित गरिएको छ । हेलिकोप्टरबाट दोलखाको लामाबगर, रसुवाको लामटाङ पनि केन्द्रीत गरिएको छ । त्यस्तै, उत्तरप्रदेशबाट आएको राहत सामग्रीहरू पनि सिधै सिन्धुपाल्चोक लगिएको छ, त्यहाँ नेपाली सरकारी अधिकारीहरूसँग समन्वय गरिएको छैन । उनीहरूले नेपाल सरकारलाई समन्वय नगरी भारतीय सञ्चारमाध्यममार्फत प्रचारबाजी मात्रै गरेका छन् । उद्धारका लागि अन्य देशका सुरक्षाकर्मीहरू खटिएका छन्, तर उनीहरूले प्रचार कम काम बढी गरिरहेका छन् ।
पछिल्लो समय नेपाली सेनाले भारतीय एयरफोर्सका सुरक्षाकर्मीहरूले देखाएको व्यवहार नसच्चाए काम लगाउन नसकिनेसम्मका अभिव्यक्ति दिएपछि अहिले नेपाली सेनाकै मातहतमा काम भइरहेको छ । भारतीय हेलिकोप्टरका पाइलटहरूले पहाडी इलाकामा कम लोडका सामान मात्रै लाने तथा खाद्यान्नलगायतका सामान नेपाली सेनाको एमआई–१७ ले मात्रै ओसार्न थालिएको छ । सेनाले दिएको पछिल्लो जानकारीअनुसार भारतीय हेलिकोप्टरले चाउचाउ र पाल मात्रै ओसारिरहेका छन् ।
विदेशी सेनाबाट सुरक्षाकर्मी नै पीडित !






