अफगानिस्तानमा आतंककारी हमलाः कम्तीमा ६० जनाको मृत्यु, कसैलाई नछोड्ने बाइडेनको चेतावनी

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बिहीबार साँझ भएको विस्फोटमा ज्यान गुमाउनेको संख्या ६० पुगेको छ। १ सय ६० जना घाइते भएका छन्।

यो संख्या अझै बढ्न सक्ने आँकलन गरिएको छ। दुई ठूला विस्फोटका घटनामा चारजना अमेरिकी सैनिक सहित १३ अमेरिकी नागरिकको पनि मृत्यु भएको बीबीसीले जनाएको छ। घटनापछि विमानस्थलबाट हुने सबै उडान बन्द गरिएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आतंकवादी संगठन आईएसआईएसको खुरासनले हमला गरेको जनाएको छ।

बिहीबार साँझ हमिद कारजाई विमानस्थलको गेटमा पहिलो विस्फोट भएको थियो। त्यसपछि एयरपोर्ट नजिकै ब्यारन होटल क्षेत्रमा विस्फोट भएको थियो। जहाँ बेलायती सैनिक बस्दै आएका थिए।

पेन्टागनका अनुसार एयरपोर्ट बाहिर तीन सन्दिग्ध देखिएका थिए। यिनमा दुईजना आत्मघाती आक्रमणकारी थिए। अर्का व्यक्ति भने बन्दुक बोकेर आएका थिए। तालिबानले यसलाई आतंकवादी हमला भनेको छ। विस्फोटपछि एयरपोर्टमा लगातार गोली चलेको थियो। एक अधिकारीले यस घटनामा कयौँ अफगानी नागरिक मारिएको बताएका छन्।

यसअघि तालिबानले अमेरिकालाई चेतावनी दिँदै ३१ अगस्टसम्म देश छाडिसक्न भनेको थियो। अमेरिकाले पनि तोकिएको समय सीमामा हट्ने बताएको थियो। तर ह्वाइट हाउसले ३१ अगस्टपछि पनि उद्धार अभियान जारी राख्ने बताएको थियो।

विस्फोटमा ६० जना भन्दा बढीको मृत्यु भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले आतंकवादीहरुलाई नछाड्ने चेतावनी दिएका छन्।

विस्फोटमा अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको मृत्यु भएको खबरले दुःखी भएको बताउँदै उनले घटनमा स‌ंलग्नविरुद्ध कडा कारबाहीको चेतावनी दिएका हुन् । उनले अफगाननिस्तानबाट अमेरिकी हवाई उद्धार कार्य जारी रहने जनाएका छन् ।

राष्ट्रपति बाइडेनले भनेका छन्, ‘हामी माफी दिने छैनौँ । हामी आतङ्कवादीहरूसँग डराउने छैनौँ । घटनामा संलग्नलाई खोजेरै सजाय दिने छौँ ।’

उनले यस्ता आतंकवादी हमलाबाट अमेरिका विचलित नहुने र उद्धार जारी रहने स्पष्ट पारेका छन् ।  स्थानीय समअनुसार साँझ ६ बजे विमानस्थलको गेट र विमानस्थल नजिकै रहेको बारोन होटल आसपास विस्फोट भएको जनाइएको छ ।

विमानस्थलको गेटमा विस्फोट हुँदा त्यहाँ धेरै अफगानी शरणार्थीहरु रहेको थिए ।

उक्त होटलमा बेलायती अधिकारीहरुले बेलायत जान चाहने अफगानीहरुको कागजी प्रक्रियाका लागि प्रयोग गरिरहेका बेला विस्फोट भएको बीबीसीले जनाएको छ । बेलायतको रक्षा मन्त्रालयल यस हमलामा बेलायती सुरक्षाकर्मी र आफ्ना नागरिक सुरक्षित रहेको जनाएको छ ।

दुईवटा विस्फोटमा उनीहरुको ज्यान जानुका साथै १४० भन्दा बढी घाइते भएको अफगानिस्तान स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । पेन्टागन प्रवक्ता जोन कीर्बीलेले पनि काबुल विमानस्थलमा भएको विस्फोटमा अमेरिकी नागरिकको मृत्यु भएको पुष्टि गरेका छन्