देश टुक्र्याउन संघीयता ल्याइँदैछ : चित्रबहादुर केसी

काठमाडौं, १० भदौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको सन्दर्भमा संघीयता अनावश्यक रहेको भन्दै विदेशीको स्वार्थमा केही दलले संघीयता लाद्न खोजेको बताए । ईमेज एफएमसँग बिहीबार बिहान कुरा गर्दै अध्यक्ष केसीले संघीयता यो देशको आवश्यकताभन्दा पनि विदेशीको आवश्यकतामा लाद्न खोजिएको बताए । ‘संघीयता नेपालको आवश्यकता नै होइन, विदेशीलाई यहाँ संघीयता चाहिएको हो,’ उनले भने ।
टुक्रिएका देश जोड्नका लागि विश्वमा संघीयताको अभ्यास भएको तर्क गर्दै उनले भने, ‘जहाँ संघीयता लागू भएका छन्, ती मुलुकमा टुक्रिएका देश जोड्नका लागि यसको प्रयोग भएको हो तर नेपालमा देश टुक्र्याउनका लागि संघीयता प्रयोग गर्न लागिएको छ ।’ उनले पिछडिएका क्षेत्र तथा वर्गका लागि विकेन्द्रीकरणमार्फत अधिकार दिन सकिने बताए । केही दलका केही नेताले विदेशीको प्रभावमा अधिकारका नाममा जातीय र क्षेत्रीय राजनीति गरिरहेको उनको आरोप छ । अध्यक्ष केसीले भने, ‘विदेशीको पैसा खाइसकेका कारण केही दललाई संघीयताबाट पछि हट्न गाह्रो परेको छ ।’