लन्डनबाट एभरेष्ट म्याराथनमा दौडिएर अन्जुले गरिन् बादी बालबालिकालाई ५ लाख सहयोग

शिब भण्डारी

लन्डन । लन्डन नर्थहोल्टकी ४९ वर्षीया अन्जु रेग्मी सिग्देलले एभरेष्ट म्याराथनमा दौडिएर आफ्नो च्यारिटी मिसन पुरा गरेकी छन् ।

सीमान्तकृत एवं गरिवीले आक्रान्त वादी समुदायका वालबालिकाको सहयोगका लागि उनले च्यारिटी रन गरेकी हुन्।

मे २९ तारिख एभरेष्ट वेसक्याम्पबाट शुरु भएर नाम्चे बजारमा अन्त भएको एभरेष्ट म्याराथनमा भाग लिन उनी लन्डनबाट गएकी थिइन् ।

सुदुर पश्चिमको सुर्खेतस्थित वादी समुदायका बालबालिकाको सहयोगार्थ उक्त म्याराथनमा सहभागी उनले ५ लाख रुपैयां पूर्व घोषित समुदायलाई हस्तान्तरण समेत गरेकी छन् ।

नेपाल गएका बेला सुर्खेत पुगेर उनले बादी सरोकार मञ्च नेपालका हिक्मत वादीलाई ५ लाख रुपैयांको चेक हस्तान्तरण गरिन् ।

हिक्मत वादी र उनकी श्रीमतिले सुर्खेतमा विभिन्न क्षेत्रबाट वादी समुदायका एकसय १० जना किशोर किशोरीलाई होस्टलमा राखेर पालनपोषण गरिरहेका छन् । तर, आर्थिक अवस्थाका कारण होस्टल सञ्चालनमा कठिनाइ भइरहेको छ ।

‘गो फण्डमी’ मार्फत दाताहरुले उनको अभियानमा सहयोग गरेका थिए । यही शनिबारसम्म अपिल जारी रहने र उठेको सबै रकम नेपालमा दिने अठोट अन्जुको छ ।


‘एभरेष्ट म्याराथनमा दौड्न बडो चुनौति थियो तर सफलतापूर्वक पार गरेर वादी समुदायलाई सहयोग गर्न पाउंदा निकै आत्मसन्तुष्टि मिलेको छ’, उनले लन्डन फर्किएपछि बताइन् ।

खेलकुदले स्वास्थ्यमा खेल्ने अहंम भूमिकाको प्रचार प्रसार र महिलालाई यसप्रति प्रेरित गर्नु पनि उनको उद्देश्य थियो । नेपाल गएका बेला उनलाई लायन्स क्लव अफ नारायणगढले सम्मान समेत गरेको छ ।

भरतपुर ४ पोख्रेली टोल लंकु चितवन घर भई हाल लन्डन नर्थहोल्ट बस्ने अन्जुले व्यस्तता वावजुद हालसम्म ७ वटा फुल म्याराथन पुरा गरिसकेकी छन् ।


बेलायतको च्यारिटी संस्था नेपलिज ब्रिटिश कम्युनिटी यूके कार्यसमितिमा आवद्ध भएर विभिन्न सहयोगमूलक कार्यमा संलग्न उनले लण्डन स्थित नेपाल रन यूकेको सदस्य भएर अरुलाई पनि हौसला बढाउने प्रयासमा लागिपरेको बताइन् ।

सन् २०१८ नोभेम्बरदेखि दौड्न शुरु गरेकी उनले ५ के, टेन के रन र केही हाफ म्याराथन गरेपछि सन् २०२० बाट फुल म्याराथन शुरु गरेकी हुन् ।

सन् २०२४ सम्म उनले विश्वका सबै ६ प्रमुख म्याराथनमा भाग लिने लक्ष्य राखेकी छन् । अब सिकागो र टोकियो बांकी छ ।

उनको पहिलो फुल म्याराथन लन्डन म्याराथन २०२० थियो जुन कोभिड महामारीका कारण ’भर्चुअल’ गरिएको थियो ।

उनले लण्डन म्याराथन २०२१, बर्लिन म्याराथन २०२२, लण्डन म्याराथन २०२२, न्यूयोर्क म्याराथन २०२२, बोस्टन म्याराथन २०२३ र केही दिनअघिमात्र लण्डन म्याराथन २०२३ मा सहभागिता जनाइसकेकी छिन् ।

उनलाई सहयोग गर्न-

https://gofund.me/282ec7b7