एनआरएन यूके अध्यक्ष प्रेम गाहाले सुरु गरे वाचा अनुसारको काम-गोर्खा डिपार्टमेन्टमा ७६ जना कस्ता कस्ता व्यक्ति परे ?

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुको समस्या समाधान र सहयोगका लागि विस्तृत कार्ययोजनासहित गोर्खा विभाग(गोर्खा डिपार्टमेन्ट) गठन गरेको छ ।

अध्यक्ष प्रेम गाहा मगरको नेतृत्वमा गठन गरिएको गोर्खा डिपार्टमेन्टको मूल समिति ६ सदस्यीय रहेको छ । गोर्खा डिपार्टमेन्टका प्रमुख संयोजक गाहा मगरले सहसंयोजकमा क्याप्टेन भीम सारु मगरलाई चयन गरेका छन् भने सदस्य सचिवको जिम्मेवारी चम्पा थापा मगरलाई दिएका छन् । एनसीसी यूकेका प्रवक्ता भरतमणि चोम्बाङ, वार हिरो विनोद बुढाथोकी र इङ्ल्याण्ड राज्य परिषदका उपाध्यक्ष भक्त दर्जी विभागमा मनोनयन भएका छन् ।

तीन जना सल्लाहकार

गाहा मगरले गोर्खा डिपोर्टको सल्लाहकारमा लेफ्टिनेन्ट कर्णेल तोल खाम्चा र लेफ्टिनेन्ट कर्णेल देबेन्द्र आलेलाई चयन गरेका छन् । कानुनी सल्लाहकारमा भने बेलायतसहित अन्तर्राष्ट्रिय कानुनका जानकार सोलिसिटर राजु थापा चयन भएका छन् ।

एनसीसी यूकेको सन् २०१९–२०२१ कार्यकालमा उपाध्यक्ष रहेका गाहा मगरले उक्त कार्यकालमा पनि गोर्खा डिपार्टमेन्टको प्रमुख संयोजकको जिम्मेवारी सम्हालेका थिए । आफूँ स्वयम्् भूतपूर्व ब्रिटिश गोर्खा सैनिक रहेका गाहा मगर स्वयम् नै भूतपूर्व गोर्खाहरुको समस्याबारे जानकार छन् । आफूँले विगतमा गरेको कामको अनुभव र भोगाइको आधारमा उनले गोर्खा डिपार्टमेन्टको जिम्मेवारी आफँैले लिएका हुन् ।

कस्ता कस्ता व्यक्ति परे डिपार्टमेन्टमा ?

अध्यक्ष गाहा मगरले एनसीसी यूकेको कार्यसमितिमा रहेका केही र नरहेका केही व्यक्तित्वहरुलाई समावेश गरेर गोर्खा डिपार्टमेन्ट गठन गरेका हुन् । डिपार्टमा परेका चोम्बाङ र थापा मगर एनसीसीमै रहेका छन् भने सहसंयोजक सारु मगर, बुढाथोकी एनसीसीमा छैनन् । त्यस्तै, राज्य समितिबाट दर्जीलाई उनले डिपार्टमेन्टमा ल्याएका छन् ।

डिपार्टमेन्टको सह संयोजकमा चयन भएका क्याप्टेन भीम सारु मगरले १४ वर्ष ब्रिटिश गोर्खा सेनामा काम गरेका छन् । पाल्पा चिदिपानीका सारु मगर सन् १९९३ मा ब्रिटिश सेनामा भर्ती भएका थिए । ब्रिटिश आर्मीमा रहँदा इन्जिनीयरिङ सेक्टरमा काम गरेका सारु मगर अवकासपछि समाज सेवामा उत्तिकै सक्रिय छन् । उनी हाल ब्रिटिश गोर्खा भेट्रान्स एसोसिएसन, यूकेका महासचिव हुन् भने बेलायतका एक प्रतिष्ठित व्यवसायी पनि हुन् । उनी विभिन्न सामाजिक सामाजिक संस्थामा पनि सक्रिय रहेका छन् ।

डिपार्टमेन्टको सदस्य सचिवको जिम्मेवारी पाएका धादिङका चम्पा थापा मगर १८ वर्ष ब्रिटिश गोर्खा सेनामा सेवा गरेर अवकासप्राप्त पूर्व सैनिक हुन् । हाल आफ्नै व्यवसाय सञ्चालन गरेका थापा मगर सामाजिक संघ संस्थामा पनि उत्तिकै सहभागी छन् । कोलभिल नेप्लिज कम्युनिटीका पूर्र्व अध्यक्ष थापा मगर मगर संघ यूकेमा पनि आबद्ध छन् ।

त्यस्तै, ताप्लेजुङका भरतमणि चोम्बाङ पनि पूर्व सैनिक हुन् । कला र साहित्यमा रुची राख्ने चोम्बाङका थुप्रै कृति प्रकाशित छन् । ब्रिटिश सेनाबाट अवकासपछि आफ्नै व्यवसाय सञ्चालन गरेका चोम्बाङ एनसीसी यूकेका प्रवक्ता छन्।

डिपार्टमेन्टमा रहेका अर्का सदस्य बिनोद बुढाथोकी ब्रिटिश सेनामा रहेर अफगानिस्तानमा रहँदा घाइते भएका व्यक्ति हुन्। हाल सेवाबाट अवकासप्राप्त बुढाथोकी ग्रेट वार हिरोको उपाधिबाट परिचित छन् । विभागमा उनलाई त्यसैको जिम्मेवारी दिइएको छ ।

त्यस्तै अर्का सदस्य भक्त दर्जी एनआरएनए यूके, इङ्ल्याण्ड राज्य समन्वय परिषदका उपाध्यक्ष हुन् । ब्रिटिश गोर्खा सैनिकबाट अवकासपछि दर्जी विभिन्न सामाजिक संस्थामा सक्रिय छन् । दर्जी सिर्जनशील समाजका अध्यक्ष समेत हुन्।

राज्यमा छुट्टै संयोजक

अध्यक्ष गाहा मगरले बेलायतका चारमध्ये तीन राज्यमा छुट्टाछुट्टै संयोजक चयन गरेका छन् । वेल्स राज्यको संयोजकमा मेजर खुसीमान गुरुङ, स्कटल्याण्ड राज्य समितिको संयोजकमा क्याप्टेन टिकाराम लिम्बु र नर्दन आयरल्याण्डको संयोजकमा बलबहादुर थापा चयन भएका छन् । त्यसैगरी बाह्र वटा काउन्टी र ५५ वटा क्षेत्रका लागि पनि संयोजक तोकिएका छन् । गाहा मगर नेतृत्वको डिपार्टमेन्टमा कूल ७९ जना सहभागी छन् ।

वाचा अनुसारको काम

भूतपूर्व गोर्खा सैनिकहरुको समस्या समाधानमा सक्रिय थापा मगरले एनसीसी यूकेको निर्वाचनका क्रममा वृद्ध गोर्खा र उनीहरुको परिवारलाई उनीहरुकै क्षेत्रमा पुगेर सेवा प्रदान गरेका थिए । ‘मैले गरेको वाचा अनुसार नै विभागलाई पूर्णता दिएका हुँ, अब त्यही भावना अनुसार नै काम अगाडि बढाउँछु’ गाहा मगरले भनेका छन् । गाहा मगरले यसअघिको कार्य समितिमा रहँदा भूतपूर्व गोर्खा सैनिक सम्बद्ध विभिन्न पाँच वटा संस्थाहरुसँग सहकार्य गरेर ब्रिटिश गोर्खा सैनिकहरुको समस्या समाधानका लागि ब्रिटिश र नेपाल सरकारसँग पहल गरेका थिए । ‘अब पनि ती संस्थाहरुसँग सहकार्य जारी रहन्छ र एनआरएनएले स्पष्ट लबिङ गर्छ’ गाहा मगरले भने । समान पेन्सन र समान अधिकारको मागसहित गोर्खा सत्याग्रह संयुक्त समितिले केही समयअघि मात्रै लण्डनमा आमरण अनसन गरेको थियो । ती माग सम्बोधनका लागि पनि गाहा मगरले ब्रिटिश र नेपाल सरकारलाई ज्ञानपत्र बुझाई दबाब सिर्जना गरेका थिए । एनआरएनए यूकेको दबाब र पहलमा आगामी डिसेम्बर भित्रै वार्ता गर्ने गरी आमरण अनसन टुंगिएको थियो ।

एनआरएनए एनसीसी यूकेको गोर्खा डिपार्टमेन्टको टिम यस्तो रहेको छ ।