काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ १६ गतेसम्म लम्बिएको छ । मंगलवार बसेको उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साविककै आदेशलाई निरन्तरता दिँदै निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
कोभिड १९ महामारी बढ्दै गएपछि काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइदै आइएको छ । खुकुलो रुपमा लगाइएको अहिलेको निषेधाज्ञा भदौ ८ गतेसम्म कायमै छ । पुरानै ‘मोडालिटी’लाई निरन्तरता दिँदै निषेधाज्ञा थप गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
सीडीओ पराजुलीका अनुसार राती ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने नियमलाई भने तत्कालका लागि हटाइएको छ ।
यसअघि राती ८ बजेपछि सवारी बन्द गराउने निर्णय भएपछि प्रशासनले आलोचना खेप्न परेको थियो । हाल सार्वजनिक स्थानमा भीडभाड गर्न, सभा सम्मेलन र जुलुस गर्न रोक लगाइएको छ । प्रशासनले जात्रा, महोत्सवमा पनि निषेध गरेको छ, तर यो गतिविधि भने रोकिएको छैन । शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पठन पाठन निषेध छ । मनोरञ्जन र खेलकुदका क्षेत्रमा पनि निषेध छ ।









