लण्डन । बेलायतमा बनेको नेपाली फिल्म ‘एटीन’ले अमेजन प्राइम मार्फत विश्वभरका दर्शक बनाउने अवसर पाउने भएको छ ।
नेपाल र नेपालीहरुकै गौरव बढाउने उद्धेश्यसहित उक्त चलचित्रले अमेजन प्लाटफर्ममार्फत प्रदर्शनमा आएको हो ।
कोरोना महामारीले चलचित्र क्षेत्र थलिएका बेला चलचित्रहरु डिजिटल प्ल्याटफर्ममार्फत दर्शक सामु पुग्ने विकल्पहरुमा नेपाली फिल्म एटीनले पनि सोही मार्ग समातेको हो । बेलायतमै निर्माण गरिएको चलचित्र ‘एटीन’ अमेजनमा अटाउन पाउँदा निकै खुशी लागेको फिल्मका निर्देशक तथा निर्माता प्रेम लामाले बताए ।
तारा देवी लामा र पेमा डोल्करको संयुक्त लगानीमा निर्मित चलचित्र ‘एटीन’ मा प्रसुना कंडेल, राजदीप राई, अम्बिका राई, सनमकुमार बैराग, रितेश चाम्ससहित बेलायतीहरु क्रिस एपलटन, राजा मिया, स्टेफनी सान्चेज र मिली एन्डरसनको पनि अभिनय देख्न सकिन्छ ।
चलचित्र ‘एटीन’ मा संगीत चन्द्रकुमार डोङ र तारा प्रकाश लिम्बु, स्वर निर्मला घिसिङ र तारा प्रकाश लिम्बु, शब्द चन्द्र कुमार डोङ र अन्जु श्रेष्ठ, ब्याकग्राउण्ड साउण्ड डिजे एल.एक्स. पौडेल, सम्पादन किरण राज थापा, छायांकन कुशल श्रेष्ठ, अरोण अशोक कुमार र प्रतिक दुदराजको रहेको छ ।
प्रेमिस भिजनको ब्यानरमा निर्माण भएको ‘एटीन’अघि निर्माता तथा निर्देशक लामाले बेलायतबाटै तीन वटा चलचित्र निर्माण एवं निर्देशन गरिसकेका छन् ।

बेलायतका विभिन्न शहरहरुमा छायांकन गरिएको उक्त चलचित्रमा नेपालबाट बेलायत पुगेर ‘सेटल’ भएको पहिलो पुस्ता र बेलायतमै जन्मी बेलायतमा नै हुर्किएको दोस्रो पुस्ता बीच ‘जेनेरेसन ग्याप’ अर्थात पुस्ताहरुवीचको दूरी, मनोविज्ञान, त्यसबीच उब्जने उतारचढाव र सामाजिक सन्देश देखाइएको छ ।
समसामयिक विषयवस्तुमा तयार पारिएको उक्त फिल्मले धेरै दर्शकहरुको मन जित्ने अपेक्षा निर्माताहरुले गरेका छन् । विश्वभर नै पहुँ च भएको अमेजन प्लाटफर्ममार्फत नेपालीहरुले बनाएको चलचित्र प्रदर्शन हुनु खुशीको कुरा भएको उनीहरुको भनाई छ ।






