विनाशकारी भूकम्पले घरबारबीहिन भएका पीडितलाई पुनर्वासका लागि चौधरी ग्रुपले दश हजार अस्थायी घरहरु निर्माण गरिदिने भएको छ ।
चौधरी ग्रुपले एक हजार घर आफ्नै खर्चमा र बाँकी ९ हजार घर दाताहरुसँग सहयोग जुटाएर निर्माण गरिदिने भएको हो । एक हजार घर निर्माणका लागि सात करोड रुपैयाँ खर्च हुने ग्रुपका अध्यक्ष बिनोद चौधरीले जानकारी दिए ।
अध्यक्ष चौधरीका अनुसार एक हजार घरहरु आगामी ६ महिनाभित्र निर्माण गरी पीडितलाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ । एउटा घर निर्माणका लागि औषत ७० हजार रुपैयाँ खर्च हुने अनुमान गरिकएो छ ।
‘बाँकी ९ हजार घर निर्माणका लागि स्वदेशी तथा विदेशी संघसंस्था, दातृ निकाय र निजी क्षेत्रसँग छलफल भइरहेको छ’ अध्यक्ष चौधरीले भने- ‘यस विषयमा सबै सकरात्मक हुनुुहुन्छ, उहाँहरुसँग साझेदारी गरेर यी घरहरु निर्माण गर्छौं ।’
यसैगरी भूकम्प प्रभावित क्षेत्रमा एक सय सामुदायिक प्राथमिक विद्यालय पुनर्निर्माण गर्ने अध्यक्ष चौधरीले जानकारी दिए । विद्यालय पुनर्निर्माणमा ग्रुपले ५ करोड रुपैयाँ खर्चिनेे छ ।
सरकारी तथ्यांकअनुसार भूकम्प प्रभावित क्षेत्रमा २ लाख ५ हजार ५२ निजी घरहरु पूर्ण रुपमा क्षतिग्रस्त भएका छन भने १ लाख ८६ हजार २ सय ८५ घर आंशिक रुपमा क्षतिग्रस्त छन् ।
चौधरी ग्रुपले भूकम्प गएलगत्तै विभिन्न जिल्लामा पुगेर पीडितहरूलार्इ खाद्यन्न तथा राहत सामाग्री वितरणा गरिररहेको छ । तीन करोड रूपैयाँ बराबरको राहत सामाग्री वितरण गर्ने योजना बनाएको ग्रुपले अहिलेसम्म २ करोड रूपैयाँ बराबरको राहत वितरण गरिसकेको अध्यक्ष चौधरीले बताए ।
काठमाडौ, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, पुगेर वाइवार्इ चाउचाउ, पेय पदार्थ, पाल लगायतका सामाग्री वितरण भइसकेको ग्रुपका पिआर महाप्रबन्धक मधुसुदन पौडेलले जानकारी दिए ।







