लण्डन । बेलायतमा रहेका नेपाली युवा व्यवसायी तिर्थ बहादुर मल्ल (अनिल) ले गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको युवा संयोजक पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी २०२१–२३ को नयाँ कार्यकालको लागि ३१ जुलाईमा हुन गइरहेको चुनावमा उनले युवा संयोजक पदमा उम्मेद्वारी दिने घाषणा अनुरुप निर्वाचन कार्यतालिका अनुसार उम्मेद्वारी दर्ता गराएका हुन् ।
उम्मेद्वारी दर्तापछि प्रतिक्रिया दिदै उनले भने, ‘एनआरएनए जस्तो गैरआवासीय नेपालीहरुको छाता संस्थामा पनि युवाहरुको सहभागिता अहिलेसम्म नगण्यजस्तै छ । संस्थाप्रति युवालाई आकर्षित गर्दै संगठित गर्नु मेरो प्रमुख प्राथमिकता रहनेछ’।
कलिलो उमेरमै बेलायतमा एक व्यवसायीका रुपमा स्थापित उनी सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । एनआरएनए होस् वा मिडिया, भलिबल होस् वा विभिन्न च्यारिटी कार्यक्रम, विगत केहि वर्षदेखि समुदाय र विभिन्न सामाजिक कार्यहरुमा निरन्तर खटिंदै आएका छन् ।
मोना यूकेको युथ टिममा अध्यक्षको जिम्मेवारी सम्हालेका उनले संस्थाले वर्षेनी आयोजना गर्ने बेलायतव्यापी भलिबल प्रतियोगितामा पनि संयोजकको भूमिका खेल्दै आएका छन् ।
उनले उम्मेद्वारी दर्ता गर्दैगर्दा एनआरएनएमाथि युवाहरुको घट्दै गएको शाख फर्काउने योजना बनाएका छन् ।
बेलायतमा जन्मिएका र यतै हुर्किंदै गरेका नेपालीहरुको दोस्रो पुस्ताले भोगिरहेका विभिन्न समस्या समाधानका लागि पहल गर्न समेत एनआरएन ‘प्लेटफर्म’ उपयोग गर्ने, विभिन्न खेलकुद र मनोरञ्जनात्मक इभेन्टहरुमार्फत संस्थामा युवा सहभागिता बढाउने र आर्थिक कोष जुटाउनेसम्मका कार्यक्रम आफ्नो एजेण्डाभित्र पर्ने उनले जनाए ।
उनले भने, युवाहरुकै सल्लाह र आग्रहअनुसार एनआरएन यूकेको युवा संयोजकमा उम्मेदवारी दिने निर्णय गरेको छु, एनआरएनएलाई युवासँग जोड्नु नै मेरो मूल धर्म हो ।






