काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशसभा सचिवालय रहने सम्भाव्य स्थान पहिचान गरी अस्थायी मुकाम तोक्न सरकारसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री कार्यालयको समन्वयमा सहरी विकास मन्त्रालयले सातै प्रदेशको कार्यालय राख्ने ठाउँ पहिचान गरेको हो ।
सरकारले प्रदेशसभा सचिवालय, प्रदेशसभा हल, प्रदेश सभामुख र उपसभामुखको निवास, प्रदेश प्रमुखको कार्यालय, प्रदेश मुख्यमन्त्रीको कार्यालय, प्रदेश मुख्यमन्त्रीको निवास तथा प्रदेश मन्त्रालयको कार्यालय रहने स्थान र ठाउँको पहिचान गर्न सहरी विकास मन्त्रालयका सहसचिव राजेन्द्रकुमार पौडेल नेतृत्वको विज्ञ टोली खटाएको थियो ।
विज्ञ टोलीले दिएको प्रतिवेदनका आधारमा मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वमा सचिवहरू सम्मिलित उच्चस्तरीय समितिले प्रदेशसभा सञ्चालन हुने स्थानबारे टुंगो लगाएको हो ।
यता, प्रधानमन्त्री कार्यालयले क्षेत्रीय प्रशासकलाई जिल्लाहरूमा समन्वय गरी प्रदेश कार्यालय रहने ठाउँको थप व्यवस्थापन गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव हरिप्रसाद पन्थीले सातै प्रदेशको सचिवालय तथा सभा सञ्चालन हुने स्थान र कार्यालयको पहिचान गरिएको जानकारी दिए ।
विज्ञ समितिले प्रदेश १ को इटहरीमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँ क्षेत्र उपयुक्त हुने सुझाव दिएपछि प्रदेश नं १ को प्रदेश सभाको बैठक सोही स्थानमा नै राखिने भएको छ ।
समितिको सिफारिसअनुसार प्रदेशसभा २ को बैठक भने मिथिला सांस्कृतिक केन्द्र जनकपुरमा बस्ने भएको छ । यसैगरी प्रदेश नं ३ को प्रदेशसभा बैठक भक्तपुर ठिमीस्थित कृषि विकास बैंकको तालिम केन्द्र अथवा सानो ठिमीस्थित शिक्षा विभाग क्षेत्रमा बसाउन उपयुक्त हुने प्रस्ताव गरिएको छ ।
यस्तै प्रदेश ४ को प्रदेशसभा बैठक पोखराको जिल्ला समन्वय समितिको कार्यालयमा बसाउन प्रस्ताव गरिएको छ भने प्रदेश प्रमुखको कार्यालय क्षेत्रीय प्रशासन कार्यालयलाई नै बनाउन सुझाव दिइएको छ ।
प्रदेश ४ को मुकाम पोखरामा नै तोक्न कुनै विवाद नभएकाले सरकारले ४ नम्बर प्रदेशको प्रदेशसभा बैठक बस्ने ठाउँदेखि प्रदेश प्रमुख रहने तथा प्रदेशका मन्त्रालयहरू रहने ठाउँको समेत पहिचान गरिसकेको छ ।
यस्तै प्रदेश ५ को प्रदेशसभा बैठक दाङमा बस्ने निश्चित भए पनि स्थान भने निर्धारण हुन सकेको छैन । दाङको घोराहीमा प्रदेशसभा बैठक बसाउन सुरुमा प्रस्ताव गरिए पनि त्यहाँ भवन अभाव हुन सक्ने भएकाले विकल्पका रूपमा लमही छनोट गरी भवनको खोजी गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
यस्तै प्रदेश ६ को प्रदेशसभा बैठक सुर्खेतको शैक्षिक तालिम केन्द्रमा बस्ने भएको छ भने प्रदेश ७ को प्रदेशसभा बैठक दिपायलस्थित ७ नम्बर प्रदेशकाे मुकाम दिपायलस्थित सेती प्राबिधिक शिक्षालय र शैक्षिक तालिम केन्द्र तोकिएको छ ।






