लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले २०२१–२३ नयाँ नेतृत्व चयनको लागि उम्मेद्वारी शुल्कसहित निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
शनिबार बेलुका निर्वाचन मण्डलले एनआरएनए यूकेको वेबसाइटमार्फत् ‘गैरआवासीय नेपाली संघ यूके निर्वाचन समिति २०२१ नियमावली तथा सूचना’ प्रकाशन गरेको हो ।
निर्वाचन समितिका संयोजक महेन्द्र कंडेल र सदस्यसचिव कर्णबहादुर शाहीले बेलायतको एनसीसीसहित चार वटै राज्य समन्वय परिषदको लागि निर्वाचन तालिका सार्वजनिक गरेको जानकारी दिएका छन् ।
समितिले जुलाई ११ तारिख आइतबार साँझ ५ बजेभित्र पहिलो मतदाता नामावली प्रकाशन गर्ने कार्यसूची बनाएको छ । त्यस्तै १२ जुलाई सोमबार साँझ ५ बजेभित्र मतदाता नामावलीमाथि दावीविरोध, १४ जुलाई साँझ ५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने भएको छ ।
त्यस्तै, उम्मेदवारी दर्ताका लागि जुलाई १५ देखि १६ तारिख साँझ ५ बजेसम्मको समय छुट्याइएको छ । जुलाई १८ आइतबार साँझ ५ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुनेछ भने उम्मेदवारमाथि दावीविरोध गर्न १९ जुलाई दिउँसो १ बजेसम्म समय दिइएको छ ।
जुलाई २०, साँझ ५ बजे उम्मेदारको अन्तिम नामावली प्रकाशन हुनेछ । मतदान जुलाई ३१ शनिबार मध्यरात ०ः०० देखि बेलुका २३ः५९ सम्म अनलाइनमार्फत हुनेछ । परिणाम घोषणा, प्रमाणपत्र वितरण र शपथ १ अगस्ट भर्चुअल माध्यमबाट गरिनेछ ।
निर्वाचन मण्डलले निर्वाचनमा भाग लिने उम्मेद्वारहरुको लागि उम्मेद्वारी शुल्क समेत तोकेको छ । जसअनुसार राष्ट्रिय समन्वय परिषदको अध्यक्षका लागि १५ सय पाउण्ड, दुई खुला, एक महिला र वेल्स, स्कटल्याण्ड र नर्दन आयरल्याण्डको प्रतिनिधित्व गर्ने एकएक गरी कुल ६ उपाध्यक्ष र महासचिवका लागि ११ सय पाउण्ड निर्धारण गरिएको छ ।
त्यसैगरी, दुई खुला र एक महिला गरी तीन सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकका लागि ८ सय ५० पाउण्ड शुल्क छ भने १२ कार्यसमिति सदस्यका लागि ४ सय ५० पाउण्ड उम्मेदवारी शुल्क लाग्नेछ ।
त्यस्तै, ७ आइसिसी सदस्यहरुको लागि १५ सय पाउण्ड उम्मेदवारी शुल्क तोकिएको छ । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन हुन उमेदवारी दिनेहरुले ४० पाउण्ड शुल्क बुझाउनुपर्नेछ ।
राज्य समन्वय परिषदहरुको हकमा भने अध्यक्षलाई ४ सय ५० पाउण्ड, उपाध्यक्षलाई ३ सय पाउण्ड, सचिव र कोषाध्यक्षलाई २ सय पाउण्ड, सहसचिव र सहकोषाध्यक्षलाई १ सय ५० पाउण्ड तथा ४ सदस्यहरुलाई १ सय पाउण्ड शुल्क छ ।
अधिवेशन लक्षित गरी खुलाइएको सदस्यता आवेदन दिनेहरुको संख्या नविकरण सहित ११ हजार ६ पुगेको छ । १८ जुलाईमा साधारणसभा बोलाइएको छ ।








