अवस्था बुझ्न प्रधानमन्त्री गोरखामा

गोरखा, २२ वैशाख । प्रधानमन्त्री सुशील कोइराला भूकम्पपछिको उद्धार र राहतको अवस्था मंगलबार बुझ्न गोरखा पुगेका छन् । महाभूकम्पबाट अत्यन्तै प्रभावित गोरखाको विभिन्न ठाउँको स्थलगत अवलोकन गर्न हेलिकप्टरमार्फत् उनी गोरखा गएका हुन् । प्रधानमन्त्री कोइरालाले गोरखाको बारपाक, लाप्राक, आरुघाट, थुमीलगायतका प्रभावित क्षेत्र अवलोकन गर्नेछन् ।
गोरखा पुगेलगत्तै उनले भूकम्पका कारण भएको क्षति व्यवस्थापनका लागि छुट्टै मन्त्रालय आवश्यक रहेको औंल्याए । यस्तै, उनले यस्तो विपद्को समयमा सबै दल एकजुट भएर सहयोगमा जुट्नुपर्ने बताए । भूकम्पले भत्किएका धार्मिक संरचना र घर पुनःनिर्माण गरिने प्रतिबद्धता उनको छ । प्रधानमन्त्री कोइरालालाई गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिनाले जिल्लामा भएको क्षति, उद्धार र राहतको अवस्थाबारे जानकारी गराएका थिए ।