त्रिविका सह–प्राध्यापक भण्डारीको निधनले लण्डन नेपाल न्यूज परिवार स्तब्ध

काठमाडौँ । त्रिभुवन विश्व विद्यालयका सह–प्राध्यापक शंकर भण्डारीको कार दुर्घटनामा परेर मृत्यु भएको छ ।

रुपन्देहीको देवदह १० चरङ्गेमा मंगलबार बेलका ८ बजेतिर भएको लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा ५२ वर्षीय प्रध्यापक भण्डारीको मृत्यु भएको हो ।

उनी नेपाली कांगेसका नेता डा. चन्द्र भण्डारीका भाइ हुन् ।

मंगलबार राति झण्डै ८ बजेतिर सडकको कल्भर्टबाट ३० मिटर तल खसेर दुर्घटनामा परेर गम्भीर घाईते भएका भण्डारीलाई तत्कालै उद्धार गरि गौतमबुद्ध सामुदायिक अस्पताल बुटवलमा उपचारका लागि पुर्याइए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

भण्डारी आफैले चलाएको उक्त कारमा सँगै रहेका आफन्त थानेश्वर भण्डारी भने सकुसल रहेको प्रहरीले जनाएको छ ।

भण्डारीको पार्थिव शरीरको बुधबार दिउँसो पशुपतिमा दाहसंस्कार गरिएको छ ।

भण्डारीको निधनले लण्डन नेपाल न्यूज परिवार स्तब्ध भएको छ । बेलायतमा रहेका प्रधान सम्पादक शिव भण्डारी आफू काठमाडौँमा रहँदा लामो समय सहयात्रा गरेको र निकै घनिष्ठ सम्बन्ध रहेको भन्दै आत्मिय दाजु गुमाउनुपर्दा अत्यन्तै पीडाबोध भएको बताए । आत्मिय नाता रहेको दाजुको निधनले आफू मर्माहत भइरहेको भन्दै शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना समेत गरेका छन् ।

यस्तै प्रबन्ध निर्देशक आर.के. त्रिपाठीले पनि उनको निधनले मर्माहत भएको बताएका छन् । उनले भनेका छन्, ‘त्रि.वि.का सहप्रध्यापक डा. शंकर भण्डारी दाइको कार दुर्घटनामा परी भएको असामयिक तथा दुखद निधनले स्तब्ध र मर्माहत तुल्याएको छ । दुःखको यस घडीमा स्व. भण्डारीको अमर आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदन व्यक्त गर्दछु ।’