लण्डन । ओखलढुंगा घर भई हाल काठमाडौंमा बसोबास गरिरहेका होमबहादुर श्रेष्ठ तथा प्रेमकुमारी श्रेष्ठको ५५ औं विवाह उत्सवको अवसरमा उनका छोरा बुहारी बुद्ध कुमारी, सिताराम-सारिका, रामजी-जमुना, शिवजी-उर्मिला, बिनय-रजनी, केन्द्र-सम्झना तथा छोरी ज्वाइहरु बिमला, कल्पना-निलशंकर,बिनिता-प्रभात, पविता-सुदर्शनले एक अक्षयकोष स्थापना गरेका छन् । उनीहरुले काठमाडौंको बसुन्धरास्थित दियालो पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी सो अक्षय कोष घोषणा गरेका हुन् ।
कार्यक्रममा विशिष्ट पाहुनाहरुलाई उनकी साहिली बुहारी जमुना श्रेष्ठले स्वागत गरेकी थिइन भने छोरा शिवजी श्रेष्ठले बुवाआमाको जीवनी प्रस्तुत गरेका थिए । नेपाली कांग्रेसको मुक्ति सेनाको कमाण्डरको रुपमा वि.सं. २००७ सालमा राणाशासन विरुद्ध लडेका सुर्यबहादुर श्रेष्ठ सर्वस्वहरणमा परेपछि राजनीतिक र आर्थिक रुपमा समेत कठिन परिस्थितीको सामना गरेर परिवारलाई अगाडि बढाउन वुवा होमबहादुर श्रेष्ठ र आमा प्रेमकुमारी श्रेष्ठले गरेको संघर्षको कथा शिवजी श्रेष्ठले प्रस्तुत गर्दा सबैको आँखा आँशुले रसाएको थियो ।
सो अवसरमा उनको ५ छोराबुहारी तथा ४ छोरीज्वाइहरुको तर्फबाट १० लाख रुपैयाँको होमबहादुर–प्रेमकुमारी ट्रष्टको घोषणा गरिएको थियो । मदन–पुरस्कार विजेता प्रसिद्ध सिमाबिद बुद्धि नारायण श्रेष्ठको अध्यक्षतामा स्थापना गरिएको ट्रष्टको सदस्य सचिवमा नेपाल खेलकूद विकास संघका महासविच समेत रहेका रामविनय श्रेष्ठलाई नियुक्त गरिएको छ ।
सो अवसरमा बोल्दैं ट्रष्टका अध्यक्ष श्रेष्ठले पवित्र ट्रष्टको नेतृत्व गर्न पाउँदा गौरव महसुस भएको बताए । त्यसैगरी एमालेका सांसद यज्ञराज सुनुवारले यो परिवारले आफ्नो लागि मात्र नबाँचेर सम्पूर्ण ओखलढुंगा जिल्लाको लागि बाच्ने गरेको बताउँदै विगतमा पनि विद्यालय र अस्पतालमा अक्षयकोषको स्थापना गरेको कुरा सविस्तार बताएका थिए ।
सांसद तथा नेपाली कांग्रेसकी नेतृ डा. आरजु देउवाले स्वास्थ्य र शिक्षा क्षेत्रका लागि समर्पित यस ट्रष्टले अरुका लागि पनि प्रेरणा भएको प्रतिक्रिया दिइन । त्यसैगरी प्रेस काउन्सिल नेपालका सदस्य तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले गौरवपूर्ण विगत र पवित्र वर्तमानको सेतुका रुपमा यो ट्रष्ट रहेको बताए ।
सो समारोहमा घटना र विचारका प्रधान सम्पादक देवप्रकाश त्रिपाठी, सशस्त्र प्रहरी महानिरिक्षक कोषराज वन्त, नेपाल प्रहरी परिवार महिला संघकी अध्यक्ष रोशी अर्याल, जेष्ठ नागरिक समाज टुडालदेवीका अध्यक्ष, पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ, प्राध्यापक, पत्रकारहरु तथा समाजका प्रतिष्ठित ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।
श्रेष्ठद्वयका नातिनातिनीहरु सिम्रिका, प्राथना, खुशी, राजश्री, केनिशा, मुस्कानद्वारा प्रस्तुत नृत्य तथा नाति अबानिश र ज्वाई भगत को गीतबाट उपस्थित पाहुनालाई मन्त्रमुग्ध बनाएको थियो । राम विनय श्रेष्ठद्वारा सञ्चालित सो कार्यक्रममा पाहुनाहरुको सामूहिक नृत्यबाट समापन गरिएको कुरा श्रेष्ठ दम्पतिका छोरा शिवजी श्रेष्ठले बताए ।









