अहिलेसम्म २० हजार घाइतेको उपचार:

baby1

भूकम्पबाट घाइतेमध्ये शनिबारसम्म २० हजारभन्दा बढीको उपचार भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भूकम्पबाट अलि प्रभावित उपत्यकासहित ११ जिल्लाका विभिन्न अस्पताल र फिल्ड अस्पतालमा घाइतेको उपचार भएको हो ।

गम्भीर घाइतेलाई अस्पतालमा भर्ना गरिएको र सामान्यलाई उपचारपछि घर पठाइएको मन्त्रालयले जनाएको छ । अस्पतालमा चाप घट्न थालेपछि भूकम्पका बेला हात-खुट्टा भाँचिएकाहरुको सामान्य प्लास्टर गरी घर पठाइएकोमा आइतबारबाट उनीहरुको पुनः परीक्षणसहित उपचार थालिने भएको नयाँ पत्रिकामा खबर छ ।

मन्त्रालयका अनुसार गोरखामा तीन सय ७२, धादिङमा ६ सय ६३, सिन्धुपाल्चोकमा १ हजार २ सय २०, रसुवामा ६ सय, दोलखामा २ सय १६, मकवानपुरमा तीन सय घाइतेको उपचार भएको छ । त्यस्तै नुवाकोटमा चार हजार तीन सय ८५, काठमाडौं मेडिकल कलेज दुवाकोटमा ८ सय ९८, निजामती अस्पतालमा २ हजार २ सय, लमजुङमा एक सय ९३ जनाको उपचार भएको छ ।

त्यसैगरी रामेछापमा दुई सय, भक्तपुरमा दुई हजार दुई सय ५८, काभ्रेमा तीन हजार ६ सय ५९, ओखलढुंगामा ८८ र सिन्धुलीमा १ सय ३३ घाइतेको उपचार भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।