शिब भण्डारी
लण्डन । बेलायतमा नेपाली समुदायहरुले नयाँ नयाँ व्यवसाय सञ्चालन गर्ने क्रम बढ्दै गइरहेको छ । होटल, क्याफे, रेष्टुरेन्ट, रियलस्टेट व्यवसाय बढ्दै गइरहेको अवस्थामा नेपालीहरु मिलेर अत्याधुनिक सुविधा सहितको लकर व्यवसाय शुरू गरेका छन् ।
बेलायत केन्ट आशफर्ड स्थित रहेको उक्त कम्पनीमा जनक राई प्रबन्ध निर्देशक सहित मोहन गुरुङ, जितेन्द्र चेम्जोङ र भरतमणि लिम्बु लगायत बाइस जना लगानीकर्ता रहेको अत्याधुनिक सुरक्षा सहितको लकर सञ्चालनमा ल्याएका छन्।ग्लोबल बुलियन भल्ट (.Global Bullion & Vault Ltd) नाम दिइएको उक्त लकरमा कुनै डरविना आफ्ना महत्वपूर्ण सामग्रीहरु राख्न सकिने व्यवस्था छ ।३ लाख ७५ हजार पाउण्ड लगानी रहेको यो भोल्ट युरोपियन स्टान्डर्ड हो।

आशफार्ड केन्टमा कार्यालय रहेको यस भल्टको औपचारिक उद्घाटन शनिवार आशफर्डका मेयर केलम नलेशले गरेका छन्। उक्त कार्यक्रममा सम्बोधन गर्दै मेयर नलेशले पछिल्लो समय चोरीका घट्नाहरु बढ्दै गइरहेको अवस्थामा शुरू गरिएको भल्ट अर्थात लकर सुविधाको व्यवसाय प्रभावकारी हुने बताए । कडा सुरक्षा सहित २४ घण्टे सेवा दिने उद्धेश्यले शुरू गरेको उक्त व्यवसायको उच्चतम सफलता समेत उनले दिएका छन् ।
मेयर नलेशले लण्डन नेपाल न्यूजसँग बोल्दै उक्त भल्टको स्थापनाले सबै समुदायका मानिसहरुलाई फाइदा पुग्ने बताए । उनले भने, यो कम्पनीले सबै समुदायलाई मुल्यवान सेवा गर्नेछ भन्ने विश्वास लिएको छु, म चाहान्छु यसमा सबै सामेल होउन र सबै समुदायले यसबाट सेवा लिउन । उनले यो पहिलो कम्पनी भएको भन्दै यसले अन्यलाई पनि यसप्रकारका काम गर्न प्रेरणा मिल्ने भन्दै भल्टको उद्घाटन गर्न पाएकोमा धन्यवाद दिए ।
पछिल्लो समय व्रिटिश एसीयन समुदाय र नेपाली समुदायमा चोरीका घट्नाहरु बढ्दै गएको कारण मूल्यवान र महत्वपूर्ण सामग्रीहरु लाई सुरक्षा दिनको निम्ती ग्लोबल बुलियन भल्टको व्यवस्था गरिएको निर्देशक राईले बताए । ‘चोरीका यस्ता घट्नाबाट ब्यक्तिका बहुमूल्य सामग्रीहरु सधैका लागि हराएका छन्, जसको कारण मानिसहरुले सामान सुरक्षाको चिन्ता गरिरहेको अवस्थामा हामीले लकरको सुविधा ल्याएका हौँ’, लण्डन नेपाल न्यूजसँग उनले भने ।
उनले २०१८ देखिनै आफुले सामग्री सुरक्षाको निम्ती व्यवस्था गरिने लकरको क्षेत्रमा काम गर्दै आइरहेको उनले बताए । ‘हामीले दिने सुरक्षा बैंक वित्तिय संस्थाको भन्दा पनि उच्चस्तीय हुन्छ, त्यो ग्यारेन्टी हामी दिन सक्छौँ,’ उनले भने, ‘हामी केन्टमा पहिलोपटक आत्मनिर्भर सुरक्षा बक्स सुविधान राख्न पाउँदा गौरव महसुस गर्छौँ ।’ उनका अनुसार आफूले तयार गरेको लकरमा उच्चतम सुरक्षाको ग्यारेन्टी गरिएको छ । डेपोजिट लकरमा उच्चतम सुरक्षा, निरन्तर सिसी टिभीको निगरानी, अलार्म सिस्टम, इन्सुरेन्स र बायोमेट्रीक कन्ट्रोल, औठाछाप (फिङ्गरप्रीनट) राखिएको छ । यी सुविधाको कारण मानिसका महत्वपूर्ण सामग्रीहरुको कुनै चिन्ता लिनुनपर्ने उनको भनाई छ ।
उनले १२ हजार पाउण्ड (इच बक्स)को इन्सुरेन्सको व्यवस्था गरिएको भन्दै ग्राहकले ५ लाख पाउण्ड सम्मको प्रिमियम विमा गर्न सक्ने बताए । राईको नेतृत्वमा सामुदायिक प्रयासमा सञ्चालित (Global Bullion & Vault Ltd) मा भुपू गोर्खा तथा नेपालीहरु आवद्ध रहेका छन ।
चोरी पैठारी रोक्नको निम्ति सञ्चालित यस लकरमा मानिसहरुले आफ्ना मूल्यवान चिजहरु जस्तै सुनचाँदी, हीरा, घडी,महत्त्व पूर्ण कागजपत्र,नगद लगायत राख्न सक्ने राईको भनाई छ। बेलायतको आशफर्डमा रहेको यस सामग्री सुरक्षा कम्पनिबाट यहाँ रहेका नेपाली समुदायका लागि विशेष फाइदा पुग्ने उनले बताए । फाइनान्सियल कन्डक्ट अथरिटी (एफसिए) यूकेमा दर्ता भई सञ्चालित यस लकर सुरक्षित रहेको भन्दै निर्देशक राईले आफ्ना सामग्रीहरू ढुक्क भएर राख्न राईले आग्रह गरे ।

यसैगरी कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका ब्यक्तिहरुले ग्लोबल बुलियन भल्ट प्रशंसा गर्दै शुभकामना दिएका थिए ।






