एनआरएनए यूकेको सदस्य बन्न झन्डै ९ हजारले दिए आवेदन, म्याद नथप्न उपाध्यक्षहरुले दिए चेतावनी

लन्डन । गैरआवासीय नेपाली संघ एनआरएनए युकेको सदस्य बन्न झन्डै ९,००० जनाले सदस्यताको लागि आवेदन दिएका छन्।

एनआरएनएले सदस्य बन्न चाहनेहरुले अप्रिल १ देखि विहिबार अर्थात जुन १० सम्म आवेदन दिन म्याद दिएको थियो । उक्त समयमा सो मात्रामा आवेदन परेको एनआरएनएले जनाएको छ । तोकिएको अवधि भित्र परेका निवेदनहरुमध्ये झन्डै ७ हजार निवेदनहरु स्वीकृत भइसकेको र बांकी निवेदनहरु माथि छानबिन भइ रहेको जनाइएको छ ।

यता सदस्यता लिन अझै मानिसहरु बाँकी रहेको भन्दै बिहीबार बेलुकादेखि शुक्रबार बिहान सम्म बसेको बैठकमा अध्यक्ष पूनम गुरुङले आवेदन दिने म्याद कम्तीमा एक साता थप्न प्रस्ताव गरेकी थिइन् । तर उपाध्यक्षहरु प्रेम गाहा मगर, सुनिल बाबु खड्का, रामचन्द्र पोखरेल, मोहन कार्की, नारायण कंडेल लगायतका पदाधिकारीहरुले त्यो प्रस्ताव ठाडै अस्वीकार गर्दै अब सदस्यता दिने म्याद नथप्न चेतावनी दिएका थिए ।

अब पनि म्याद थप्दा त्यसले गलत संदेश जाने र निर्वाचन प्रक्रियाको स्वच्छता माथि गम्भीर आशंका उत्पन्न हुन सक्ने उनीहरुको भनाई छ । उनीहरुले आवेदन दिन म्याद थप गरेर धाँधली गर्न खोजिएको भन्दै कडा विरोध गरेका थिए। त्यस पछि बिना कुनै निर्णय शुक्रबार बिहान बैठक टुंगिएको थियो।

यस अघि बसेको अर्को बैठकमा आवेदन दिने म्याद थप्नु पर्छ भन्ने धारणा राखे पछि निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त महेन्द्र कडेल पनि विवादमा परेका थिए। पछि आयुक्त कंडेलले यस बारे निर्णय गर्ने अधिकार कार्य समितिको भएको स्पष्ट पारेका थिए। सन् २०१९ मा भएको चुनाबमा झन्डै १३ हजार सदस्य सहित एनआरएनए यूके सांसारमै सबैभन्दा बढी सदस्य भएको एनसीसी बनेको थियो।

तर यसपटक एमआइएस प्रणालीमा सदस्यता निवेदन लिइएकाले आवेदन दिन निकै समय लागेको बताइएको छ। यसपटकको एनआरएनएको चुनाव कडा प्रतिस्पर्धाको साथ हुने देखिएको अभियन्ताहरुले बताएका छन् ।