पत्रकार महासंघ यूकेमा कस्ले पाउला अध्यक्षको कमाण्ड ? यस्तो छ अपडेट

लण्डन ।आगामी जुन १३ गते हुने नेपाल पत्रकार महासंघ बेलायत शाखाको अधिबेसन तथा नयाँ कार्य समिति चयनको लागि पोष्टलतर्फ शतप्रतिशत मत खसेको छ ।

शाखाको पाँचौँ कार्यसमितिका लागि  हुने निर्वाचनको लागि पोस्टलतर्फ ३८ मतदाताले मतदान गरेको प्रमुख निर्वाचन आयुक्त रमेश सराङकोटीले जानकारी दिए ।उनका अनुसार निर्वाचन समितिले तोकेको समयभित्रै उक्त मत प्राप्त भएको छ ।

पत्रकार महासंघ बेलायतका कुल ४३ मतदातामध्ये पोस्टल मतपत्र माग्ने सबै अर्थात् कुल मतदाताको ८८ दशमलव ३७ प्रतिशतको मत खसिसकेको छ ।पोस्टल मतदान नगर्ने बांकी पाँच जनाले आइतबार प्रत्यक्ष मतदान गर्ने कार्यसूची रहेको छ ।

कोरोना महामारीका कारण सिर्जित प्रतिकुल परिस्थिति समेतलाई मध्यनजर गर्दै पत्रकार महासंघ बेलायतमा यो वर्ष पहिलोपटक पोस्टल मतदानको अभ्यास गरिएको हो ।

महासंघकी उपाध्यक्ष विमला सेनेको संयोजन तथा अध्यक्ष नरेश खपाङ्गीको अध्यक्षतामा बसेको विहिबार साँझको बैठकले निर्वाचनलाई शान्तिपूर्ण र सहज बनाउन सबैपक्षलाई आग्रह गरेका छन् ।

अध्यक्षमा ध्रुवराज अर्याल र श्याम लुइंटेल, वरिष्ठ उपाध्यक्षमा दिनेश कुमार परियार र संजयभक्त कंडेल, महासचिवमा नरेन्द्रकुमार बस्नेत र जगन्नाथ कार्की प्रतिस्पर्धामा उत्रिएका छन् ।

यसअघि शाखाको खुला उपाध्यक्षमा शिव भण्डारी र महिला उपाध्यक्षमा प्रमिला लाबुङ राई, सचिवमा मन्जु भण्डारी र खेमराज रानाभाट, कोषाध्यक्षमा सविन्द्रकुमार गुरुङ र सहकोषाध्यक्षमा सुरेन्द्र इङनाम पनि निर्विरोध चयन भइसकेका छन् । त्यस्तै ६ सदस्यको ठाउँमा गोमा राना, जयराम तामाङ र नगेन्द्रराज नेम्वाङ पनि निर्विरोध बनेका छन् ।

अधिवेशनले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, २ उपाध्यक्ष, १ महासचिव, २ सचिव, १ कोषाध्यक्ष, १ सहकोषाध्यक्ष र ६ सदस्य गरी १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । प्रत्यक्ष रुपमा ५०० नर्थाेल्ट रोड साउथ ह्यारोमा दिउँसो तीनबजेदेखि ५ बजेसम्म भोट हाल्न पाउनेछन्।

सबै मतदाताहरुले मतदान गरे पश्चात तुरुन्तै मतगणना शुरु गरी सोही दिन नतिजा घोषणा गर्ने तयारी रहेको प्रमुख निर्वाचन आयुक्त साराङकोटीले बताए ।