लण्डन । विश्वका सात शक्तिशाली राष्ट्रहरुको समूह जी सेभेनको सम्मेलन शुक्रवारदेखि लण्डनमा शुरू भएको छ । बेलायत, अमेरिका, क्यानडा, जर्मन, फ्रान्स, इटाली र जापानका राष्ट्रप्रमुखहरु यतिबेला लण्डनमा आएका छन् ।
सम्मेलनमा भाग लिनको निम्ती अमेरिकी राष्ट्रपति जो बाइडेन विहिबार नै लण्डन ओलिए । लण्डन ओलिएसँगै बाइडेनले रुसलाई आतंक नमच्चाउन चेतावनी दिएर भ्रमणको शुरूवात गरे ।
त्यसलगत्तै प्रधानमन्त्री बोरिस जोन्सन र अमेरिकी राष्ट्रपति बाइडेनवीच भेटवार्ता छलफल भयो । विभिन्न सम्झौताहरु पनि भए । राष्ट्रपति भएपछि पहिलो पटक विदेश भ्रमणमा निस्किएकाबाइडेनले ट्विटरमा शेयर गरेको एक तस्वीर यतिबेला भाइरल भएको छ ।
बेलायत र अमेरिकाको पहिलेदेखि नै घनिष्ठ सम्बन्ध रहेको छ । त्यसकारण दुई राष्ट्रप्रमुखहरुवीचको वार्ता पनि घनिष्ठ नै भयो । सोही क्रममा एक तस्वीर बाइडेनले सार्वजनिक गरे । अहिले उक्त तस्बिरको सामाजिक सञ्जाल प्रयोगकर्ताले मजाक उडाइरहेका छन्।
बाइडेनले तस्वीर शेयर गर्दै भनेका थिए– ‘अमेरिका र बेलायतको विशेष सम्बन्ध कुनै पनि बेलाको भन्दा बलियो छ। आज मलाई स्वागत गर्नुभएकोमा धन्यवाद प्रधानमन्त्री जोनसन ।’
उक्त तस्बिरमा प्रधानमन्त्री जोनसन दुबै हात पाइन्टको खल्तीमा हालेर उभिएका छन् भने बाइडेनले धाप मारेको देखिन्छ। बाइडेनले केही भनिरहेको र जोनसनले ध्यान दिएर उनको कुरा सुनिरहेजस्तो लाग्छ।
यो तस्बिरलाई कतिपयले बाबुले छोरालाई सम्झाइरहेको भनेर लेखेका छन् भने केहीले बाइडेनले जोनसनलाई कपडा खोलेर समुद्रमा जान भनेको उल्लेख गरेका छन्।
कतिजनाले भने यूके र अमेरिकाको राम्रो सम्बन्धको प्रतिकको रुपमा उक्त तस्वीरलाई लिएका छन् ।
बेलायती प्रधानमन्त्री जोनसनलाई धेरैले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका साथी ठान्छन्। उनीहरूको राजनीतिक मुद्दामात्रै होइन लवाइखवाइ पनि मिल्छ।
बेलायतमा चुनाव हुनु अघिनै जोनसनलाई प्रधानमन्त्रीका रूपमा ट्रम्पले समर्थन गरेका थिए। बेलायत भ्रमणमा आएका बेला ट्रम्पले जोनसनलाई आफ्नो ‘मित्र’ मात्र भनेनन् प्रधानमन्त्रीका रूपमा उनले गजब काम गर्ने पनि बताएका थिए।
बेलायत युरोपियन युनियनबाट जसरी पनि अलग हुनुपर्छ भन्ने जोनसनको विचारको ट्रम्पले समर्थन थियो। युरोपबाट अलग भए बेलायत र अमेरिकाबीच आर्थिक सम्बन्ध झनै कसिलो बनाउन सकिने ट्रम्पको तर्क थियो।
ट्रम्पसँगको त्यही मित्रतालाई सम्झदै बाइडेन जोनसनलाई समद्रमा हाम फाल्न भनेको भनेर पनि कतिपयले मजाक उडाएका छन्।
जे हो यतिबेला यो तस्वीर हजारौँले सामाजिक सञ्जालमा शेयर गरेका छन् । हालसम्म बाइडेनले राखेको सो तस्वीरमा ट्विटरमा ६४ हजार बढीले लाइक गरेका छन् । –एजेन्सीको सहयोगमा






