काठमाडौँ । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँलाई एक ब्यक्तिले सार्वजनिक स्थलमै थप्पड हानेका छन् ।
देशको दक्षिणपूर्वी भागमा भ्रमण गरिरहेको उनलाई चड्कन हानेको भिडियो यतिबेला भाइरल बनेको छ । एक भिडिओमा भ्यालेन्स शहरबाहिरको भागमा भ्रमणको बेला राष्ट्रपति माक्रोँ एक सुरक्षा तगारो राखिएको ठाउँमा मानिसहरूलाई भेट्न पुगेका थिए।
त्यहाँ हरियो टि शर्ट लगाएका एक पुरुषले उनको मुहारमा चड्कन हान्छन्। लगत्तै सुरक्षाकर्मीहरूले राष्ट्रपतिलाई तानेर लैजान्छन्। सञ्चारमाध्यमहरूका अनुसार उक्त घटनापश्चात् दुईजना पुरुषलाई पक्राउ गरिएको छ।
घटनापछि बोल्दै माक्रोँले त्यसलाई एक असामान्य घटना भनेका छन्। उनले राजनीतिक वातावरण बिग्रिरहेको अस्वीकार गरेका छन्। माक्रोँका समर्थक र विपक्षी दुवैले उक्त घटनालाई लिएर आक्रोश व्यक्त गरिरहेका छन्।
अर्को वर्षको चुनावमा माक्रोँको सम्भावित प्रतिस्पर्धी लोकप्रियतावादी नेत्री मारिन ल पेनले राष्ट्रपति विरूद्धको हिंसा अस्वीकार्य रहेको बताइन्। एकजना कनिष्ठ आन्तरिक मामिला मन्त्रीले राष्ट्रपतिमाथिको चड्कन प्रत्येक फ्रान्सेली जनतामाथिको चड्कन भएको बताएका छन्।
हालसम्म चड्कन हान्ने पुरुषको परिचय र उनको नियत प्रस्ट भएको छैन। स्थानीय अधिकारीहरूका अनुसार उनी र अन्य एक व्यक्तिसँग प्रहरीले सोधपूछ गरिरहेको बताइएको छ। चड्कन हान्ने घटना लगत्तै त्यहाँ ठूलो सङ्ख्यामा सुरक्षा अधिकारीहरू परिचालित भएको बीबीसीले जनाएको छ ।






