काठमाडौँमा १० दिन थपियो लकडाउन, यसपटक के खुल्छन् के खुल्दैनन् ?

काठमाडौँ । काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ गतेसम्म थप्ने निर्णय भएको छ । निषेध गरिएका केही प्रावधान हटाएर निषेधाज्ञा थप्ने तयारी निर्णय भएको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठकले महामारीको चेनब्रेक हुन नसकेको भन्दै निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

अघिल्लो साता बन्द गरिएका खाद्यान्न र किराना पसललाई खोल्न दिने निर्णय भएको छ ।

वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ । अब किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए ।

सार्वजनिक निर्माणलाई खुल्ला गर्ने निर्णय भएको छ । सार्वजनिक निर्माण बन्द हुँदा सामग्री ढुवानीका सवारी–साधन पनि रोकिएका थिए । निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न दिने निर्णय गरिएको छ ।

निषेधाज्ञा थप्नुपर्ने अनौपचारिक निर्णय मंगलवार नै भएको थियो ।