तक्दीर अधिकारी
सिड्नी । अष्ट्रेलियाका नवनियुक्त नेपाली राजदूत कैलाशराज पोखरेल र नेपाली पत्रकारहरुको संस्था अष्ट्रेलियन नेप्लिज जर्नालिष्ट एसोसियन (एन्जा) अष्ट्रेलियाका पदाधिकारीबीच बृहत्तर छलफल भएको छ ।
राजदूत पोखरेलको निमन्त्रणामा अष्ट्रेलियाको राजधानी क्यानबेरा स्थित निवासमा आइतवार नेपाली पत्रकारहरु पुगेका थिए । भेटमा पत्रकारहरुले दूताबासले गरिरहेका कामहरुको बारेमा जानकारी लिनुका साथै विविध विषयमा प्रश्न राखेका थिए । एन्जाका संस्थापक अध्यक्ष हेमन्त काफ्ले, वर्तमान अध्यक्ष ऋषि आचार्य लगायत एन्जाका सदस्य सहित सिड्नी र क्यानबेरामा रहेका पत्रकारहरुको उपस्थिति रहेको थियो ।
राजदूत पोखरेल र पत्रकारहरु बीच हुण्डी, विद्यार्थी तथा अभिभावक, कामदार लगायतका विषयमा वृहत्तर छलफल भएको थियो ।
उनीहरुले सिधा हवाई यातायात, विद्यार्थीहरु समस्या तथा पोसपोर्ट लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए । पछिल्लो समय अस्ट्रेलियामा नेपाली समुदायको बसोबासी बढिरहेकाले नेपाल पैसा पठाउने सजिलो माध्यम नहुँदा अवैध रुपमा हुण्डीको कारोबार बढिरहेको भन्दै पत्रकारहरुले अवैद्य हुण्डीको कारोबार रोक्न दूताबासले पहल गर्नुपर्ने बताएका थिए ।
त्यस्तै पत्रकारहरुले दूताबासको भवन निर्माण, राहदानी लगायतका विषयमा पनि जिज्ञासा राखेका थिए । राजदूत पोखरेलले अस्ट्रेलियामा रहेका विभिन्न नेपाली सघंसंस्थाहरुले गरिरहेका कार्यको प्रशसां गरे । उनले दूताबासबाट प्रदान हुने सेवा सहज र सरल बनाउन डिजिटल माध्यमलाई सक्रिय बनाउने र फोनबाट दूताबासमा सम्पर्क गर्दा बेहोर्नु पर्ने सास्ती र झण्झटलाई कम गर्ने बताए ।
उनले राहदानी वितरण प्रक्रियालाई पनि सहज बनाउन प्रयास भईरहेको जानकारी दिए । उनले दूताबासको वेभसाईटमा रहेका प्रयाप्त जानकारीहरु अक्षरस पढ्न सके दूताबासको सेवाबारे सम्पूर्ण कुरा थाहा पाउन सकिने बताए । त्यस्तै राजदुत पोखरेलले दूताबासमा अहिलेसम्म हुँदै आएको नगद कारोबार अन्त्य गर्दै बैंकिंग प्रणालीमार्फत कारोबार शुरु गर्न थालिएको समेत जानकारी दिए ।
उनले यो काम आफ्नो प्रमुख मुख्य काम समेत भनेका छन् । त्यस्तै उनले हुण्डी कारोबारलाई कम गर्न दूताबासको तर्फबाट पहल थाल्ने बताए भने दुई देशबीच सिधा हवाई उडानकोलागि पहल भईरहेको ,दूताबासको भवन निर्माण र जलश्रोतका विषयमा दुई देशबीच सचिव स्तरीय कुटनीतिक वार्ता अगाडी बढेको बताए ।
यसभन्दा अगाडी एनआरएनएका पदाधिकारीसगं भेटघाट गरेका राजदूत पोखरेलले यसपटक पत्रकारहरुसगं धेरै कुराको जानकारी हुने हुनाले अस्ट्रेलियामा रहेका विभिन्न समस्याहरु र ती समस्या समाधानका लागि के गर्न सकिन्छ भनेर भेटघाट गरेको बताए ।
कार्यक्रममा अस्ट्रेलियामा कार्यरत विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।






