बेलायतमा जेनसेनको सिंगल डोज खोपलाई अनुमति

लण्डन । बेलायतमा जनसेनले बनाएको सिंगल डोज कोभिड खोपलाई प्रयोगको अनुमति दिइएको छ । औषधी नियामक निकायले बेलायतमा प्रयोगको लागि अनुमोदन गरेको हो।

परीक्षणको क्रममा यस खोपले कोरोनाभाइरस संक्रमणदर रोक्न ८५ प्रतिशत प्रभावकारी मानिएको थियो । अपेक्षित सुरक्षा मापदण्डहरू पूरा गरिसकेको कारण प्रयोगको अनुमति दिएको खोप समितिले जनाएको छ ।

प्रयोगको अनुमति दिइएसँगै बीस लाख डोज यूकेका लागि अर्डर गरिएको छ, उक्त खोप यो वर्षको अन्त्यतिर आउने जनाइएको छ ।

कोविड १९ बिरूद्ध बेलायतमा प्रयोग गरिने यो चौथो खोप हुनेछ। हाल यूकेमा ३८ मिलियन भन्दा धेरै मानिसहरुले कोभिडको पहिलो मात्रा पाइसकेका छन् उक्त संख्या यूकेको वयस्क समुदायको तीन चौथाई हो ।

सजिलैसँग फ्रिज तापक्रममा भण्डारण गर्न र सार्न सकिने यो खोप केयर गिभरलाई जाडो मौसम शुरू हुनुभन्दा अघि प्रयोग गर्न सकिने बताइएको छ ।

बेलायतको खोप समिति – खोप र खोप सम्बन्धी संयुक्त समिति (जेसीवीआई) ले बेल्जियममा निर्मित यस खोप कसले कहिले दिने भन्नेबारे सल्लाह दिनेछ ।

खोप डिप्लोइमेन्ट मन्त्री नाधिम जहावीले जनसेन खोप बेलायतमा महामारी नियन्त्रण गर्न अर्को हतियार हुने बताए ।

उनले भने, ‘हामी सकेसम्म छिटो सबै वयस्कहरूलाई खोप दिनको निम्ती सबै कामहरु गरिरहेका छौँ, र योग्य हुने सबैलाई खोप छिटो भन्दा छिटो लगाउत आग्रह पनि गर्छु ।’

यो खोपले अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिनको जस्तै प्रविधि प्रयोग गरेकोले कम उमेरका भन्दा बढी उमेरका वयस्कहरुको निम्ती अझै बढी राम्रो हुने भएको कारण विकल्पको रुपमा प्रयोग गर्न सकिने बताइएको छ ।

सिंगल डोज ज्याबलाई युरोपियन मेडिसिन एजेन्सी, संयुक्त राज्य अमेरिकामा खाद्य तथा औषधि प्रशासन, र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) द्वारा पहिले नै स्वीकृत गरिएको छ।