लण्डन । गैरआवासीय नेपाली संघ, यूकेका २०२१–२०२३ का लागि अध्यक्ष पदका उम्मेदवार प्रेम गाहा मगरले संस्थाको मर्यादा र साखलाई जोगाउनका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् ।
निर्वाचनको पूर्वसन्ध्यामा बिहीबार साँझ अल्डरशटमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार गाहा मगरले बेलायतवासी नेपाली समाजलाई एकताबद्ध बनाउने र संस्थाको विश्वसनीयता वृद्धि गर्ने आफ्नो उद्देश्य रहेको बताए । ‘संस्थाको पारदर्शिता र विश्वसनीयता बढाउन थुप्रै काम गर्न बाँकी छ, तिनै काम पूरा गर्ने मेरो उद्देश्य हो’ उनले भने ।
मतदानका क्रममा विचार पुर्याउन आम सदस्यहरुलाई आग्रह गर्दै गाहा मगरले संस्था बचाउनका लागि सहयोग गर्न अपिल गरे । आफू निर्वाचित भएपछि गर्ने काम र ती काम गर्ने प्रतिबद्धता यसअघि नै सार्वजनिक गरिसकेको बताउँदै उनले सबैको साथ, सहयोग र मतको अपेक्षा व्यक्त गरे ।
एनसीसी अध्यक्षको उम्मेदवार रहेका गाहा मगरले आफू निर्वाचित भएमा आगामी दुई वर्षमा एनआरएनलाई ‘सबैले गर्व गर्न लायक साझा संस्था’ बनाउने घोषणा पनि गरे । एनसीसी यूकेको नयाँ नेतृत्व चयनका लागि शनिबार (३१ जुलाई) निर्वाचन हुँदै छ । मतदान अनलाइन हुने छ ।
पत्रकार सम्मेलनमा महासचिवका उम्मेदवार खुसी लिम्बुले गाहा मगरले अघि सारेका सात बुँदे प्रतिबद्धता पढेर सुनाएका थिए । गाहा मगरले संस्थाको सुदृढीकरण, पारदर्शिता, गोर्खा सैनिकहरुको समस्या समाधान, नेपाल हाउस परियोजना, युवा तथा महिलाहरुको सहभागितामा वृद्धि, नेपाली नागरिकताको निरन्तरता र नेपालमा रहेको सम्पत्तिको सुरक्षा, नेपालमा पर्यटन प्रवर्द्धन र वैदेशिक लगानीका लागि पहल, एनआरएनएको सदस्यता प्रणाली सुधार लगायतका एजेण्डा अघि सारेका छन् ।

पत्रकार सम्मेलनमा उपाध्यक्ष पदका उम्मेदवार नारायण कँडेलले अहिलेको निर्वाचन संस्था बचाउने र विघटन गर्न खोज्नेहरुबीचको प्रतिस्पर्धा भएको बताए । ‘संस्थामा मौलाएको आर्थिक अनियमितता ढाकछोप गर्न संस्था नै विघटनको षड्यन्त्र गर्नेहरुलाई निर्वाचनमा उठ्ने नैतिक आधार छैन,’ उनले भने ।
आफूहरुले संस्थामा भएको ९१ हजार पाउण्ड अनियमितताको छानबिनको विषय उठाएपछि एकथरीले बेलायतको कम्पनी हाउसमा एनआरएन यूके नै खारेजीका लागि निवेदन दिएको जानकारी दिँदै उनले आफूहरुको पहलमा संस्था खारेज हुनबाट जोगिएको बताए । ‘संस्थाको रकम अनियमितता गर्नेहरु विरुद्ध कारबाही हुनुपर्छ, त्यस पछि मात्र पारदर्शिता र सुदृढीकरणको काम आरम्भ हुन्छ,’ उनले भने ।
पत्रकार सम्मेलनमा ुप्रेम गाहा मगर जिताऔं अभियानु का प्रमुख संयोजक शेरबहादुर सुनारले प्रेम गाहा मगर नेतृत्वको समावेशी टिमको विजय सुनिश्चित भै सकेको बताए । राज्य समन्वय परिषद र एनसीसीका केही पदहरुमा मगरको एजेण्डामा सहमति जनाउने उम्मेदवारहरु निर्विरोध निर्वाचित भइसकेको भन्दै उनले समाजलाई थप एकताबद्ध बनाउन प्रेम गाहा मगर र उनको एजेण्डामा सहमति जनाउने उम्मेदवारहरुलाई विजयी बनाउन उनले आग्रह गरे ।
पत्रकार सम्मेलनमा उपाध्यक्ष पदका उम्मेदवारहरु मोहन कार्की, सुनिलबाबु खड्का, गोविन्द खरेल, महिला उपाध्यक्षकी उम्मेदवार शकुन्तला गुरुङ, इङ्ल्याण्ड राज्य समन्वय परिषदका उपाध्यक्ष उम्मेदवार भक्त दर्जी लगायत गाहा मगरले अघि सारेका एजेण्डामा सहमति जनाउने उम्मेदवारहरुले पनि आफूहरुलाई मतदान गर्न आग्रह गरेका थिए ।
पत्रकार सम्मेलनमा उम्मेदवारहरुले मतदान सकिएलगत्तै निर्वाचन परिणाम सार्वजनिक गर्ने व्यवस्था मिलाउन निर्वाचन समितिसंग माग गरेका थिए ।
भिडियो
https://www.facebook.com/londonnepalnews/videos/651829532457967






