काठमाडौँ । काठमाडौँ उपत्यकामा गत बैशाख १६ गतेबाट लगाइएको लगाइएको निषेधाज्ञा थप कडा गर्दै एक साताका लागि थप गरिएको छ । संक्रमणदर अझै पनि नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेधाज्ञा थपिएको हो ।
बैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा पछिल्लोपटक दुई साता थपेर जेठ १३ गते रातीसम्म पुर्याइएको थियो।
उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। नयाँ निर्णयअनुसार किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न रोक लगाइएको छ।
तर विहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ ।
सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधन सञ्चालनमा पनि कडाइ गरिएको छ । बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र ती गाडीहरु चलाउन पाइने भएको छ ।
निर्माणका कार्यलाई पनि प्रशासनले एक साताका लागि रोक लगाउने निर्णय गरेको छ । विवाहमा ७ जना मात्र जम्मा हुन पाउने भनिएको छ । साथै, हालसम्म प्रशासन र अन्य निकायबाट जारी सबै पास पनि खारेज गरिएको छ ।
अब लागू हुने निषेधाज्ञाको पालना नगर्नेलाई कारबाही गर्ने गरिने भएको छ । हालै जारी कोभिड–१९ अध्यादेशअनुसार उल्लंघन गर्नेलाई कारबाही गर्ने पनि निर्णय भएको हो ।
अध्यादेशमा अनुमतिविना वा बिरामी ओसारपसार गर्ने प्रायोजनबाहेक सवारीसाधन चलाउनेलाई कारबाही गर्नसक्ने व्यवस्था छ । त्यस्तो अवस्थामा दुईपांग्रेलाई दुई हजार र अन्य सवारीसाधनलाई ५ हजार जरिवाना तिराउन सक्ने भनिएको छ ।
मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकैपिच्छे एक सय रुपैयाँ तिराउन सक्ने व्यवस्था छ । साथै, हिंडडुलमा रोक लगाएको अवस्थामा विना काम निस्किनेलाई दुई सय रुपैयाँ तिराउन सक्ने भनिएको छ ।
कोरोना भाइरसको संक्रमण दर नघटेको भन्दै निषेधाज्ञा निरन्तर थप र कडा बनाउँदै लगिएको हो ।






