लन्डन । नेपालमा ७ दशमलव ९ रेक्टर स्केलको शक्तिशाली महाभूकम्पछि देश विदेशबाट राहत एवं उद्दार टोली प्रभावित क्षेत्रमा खटिइरहेकै बेला बेलायतस्थित नेपाली नर्सहरुले पनि साथ दिएका छन् । महाभूकम्पले ठूलो धनजनको क्षति गरेको छ । पूरा देश पीडामा छ । यो दुःख बाँड्न बेलायतबाट पीडितहरुको उपचारका लागि नेपलिज नर्सिंग एसोसिएसन यूकेकी उपाध्यक्ष प्रसुना कंडेलको नेतृत्वमा नर्सहरु राधिका आचार्य, ज्योति तिवारी र वर्षा वेल्वासे सोमबार नेपाल प्रस्थान गरेका थिए। उनीहरुले प्रभावित क्षेत्रमा गएर उपचारमा सघाउनेछन् ।नेपाल आउनुभएकी प्रसुन्ना कडेलले दिएको जानकारी अनुसार नर्भिक अस्पतालको सहकार्यमा काभे्रको छाप गाउँमा राहत वितरण गर्नुका साथै स्वास्थ्य सेवा उपलब्ध गराएको छ । स्थानीयवासी यतिबेला खुला आकाशमा रात बिताइरहेको टोली संयोजक कडेलले बताउनुभयो ।अहिलेसम्म उक्त क्षेत्रमा राहत टोली पुगेको थिएन । कंडेलको नेतृत्वमा विहीबार पुगेको टोलीले स्थानीयवासीको स्वास्थ्य परीक्षणसँग औषधिलगायत, खाद्यन्न र लत्ताकपडा वितरण गरिएको थियो ।

बालबालिका तथा सुत्केरी महिलाको स्वास्थ्य अवस्था पीड़ादायी भएको र त्यों क्षेत्रमा दुईजनाको मृत्यु भइसकेको जानकारी संयोजक कंडेलले दिनुभयो । भूकम्प पीडितलाई यतिबेला राहत वितरण गर्ने टोली भन्दा पनि स्थानीयवासी पुनस्र्थापनाको पर्खाइमा रहेका छन् । विदेशबाट दोडेर आउनुभन्दा पनि भूकम्प पीडितको पुनस्र्थापनाका लागि सहयोग उपलब्ध गराउनु अहिलेको आवश्यकता रहेको संयोजक कडेलले बताउनुभयो ।

नेप्लिज नरसिङ एसोसिएसन यूकेको टोलीले धादिङमा राहत वितरण गर्ने योजना बनाएको थियो । तर स्वास्थ्य मन्त्रालयले धादिङमा भन्दा काभे्रको छाप गाउँमा राहत र उद्धार आवश्यक भएको बताएपछि उक्त टोली त्यसतर्फ गएको संयोजक कडेलले बतानुभयो । उक्त टोली भोलि ज्याम्दीमा जाने तयारी गरेको छ भने पर्सी अर्थात् शनिबार गोर्खा जाने तयारी गरेको छ ।

एसोसिएसनले भूकम्प पीडितका लागि तत्काल तीनहजार पाउण्ड दिने निर्णय समेत गरेको छ । उक्त रकममध्ये एक एक हजार काठमाण्डौं र धादिंग एवं एक हजार अत्यावश्यक ठाउंमा खर्च गरिने एसोसिएसनले जनाएको छ । संस्थाले एक विज्ञप्ति जारी गर्दै पीडितहरुको आर्थिक सहयोगका लागि कोष अभिवृद्धिमा सक्रिय रुपमा संलग्न हुने पनि उल्लेख गरेको छ । उसले बेलायत र नेपालमा मानवीय सहयोगका लागि अन्य संघसंस्थाहरुसंग समन्वय गर्ने समेत जनाएको छ । संस्थाले पीडितहरुका लागि आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सबैमा अपिल गरेको छ । संस्थाले विपत्तिप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरेको छ ।











