गुल्मी, वैशाख १६– घरमा दिदीको विवाहको तयारी थियो । महेश्वर खनाल परिवारका अन्य सदस्यसँगै दिदीको विवाहका लागि काठमाडौंमा किनमेल गर्दै थिए । गत शनिबार छुटपुट सामान किन्न उनी मोटरसाइकल लिएर निस्केका थिए । शनिबार नै गुल्मी जैसिथोक–१ को घरमा फर्कने तयारीमा थिए उनी । तर, उनी शनिबार विनाशकारी भूकम्पमा परे । आइतबार उनको मोटरसाइकल र झोला मात्रै भेटिएको थियो । उनको शव भने सोमबार मात्रै भेटियो । यो खबर जैसिथोकमा भने मंगलबार मात्रै थाह भएको छ । जैसिथोकमा रहेका काका यमकान्त खनालका अनुसार महेश्वरको शव मंगलबार काठमाडौंमै दाह संस्कार गरिएको छ । ‘महेश्वरकी दिदी मधुको यही विवाह २१ वैशाखमा लिम्घामै एक युवासँग बिहे हुने पक्का भएको थियो,’ यमकान्तले भने, ‘विवाहका लागि घर आउने बेला उतै दाहसंस्कार गरेर परिवारजन फर्कनुपरेको छ ।’ यमकान्तका अनुसार काठमाडौंको थानकोटस्थित बेस्ट पोइन्ट इंग्लिस बोर्डिङ स्कुलमा पढाउने काम गर्ने महेश्वर क्याम्पस पनि पढ्दै थिए । महेश्वरका मातापिता रुपन्देहीको सैनामैना नगरपालिकामा बस्दै आएका छन् । जैसिथोकको घरमा उनका भाइ कृष्ण, दिदी मधु र बहिनी मिनाश्री बस्छन् । दिदीको विवाहलगत्तै २८ वर्षीय महेश्वरको पनि विवाह गरिदिने सोच परिवारले गरेको यमकान्तको भनाइ छ । अब उनको काजकिरिया रुपन्देहीमै गरिने बताइएको छ ।
विनाशकारी भूकम्पमा परे गुल्मी जैसिथोकका महेश्वर:






