काठमाडौँ, १६ वैशाख । नेपाली काँग्रेसले देशमा आइपरेको भूकम्पको महाविपत्तिको सामना गर्न पार्टीका तर्फबाट जनतालाई सबै किसिमका सहयोग पु-याउन र राहत कार्यको परिचालन र समन्वय गर्न सबै जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । पार्टीले आफ्नो जिल्लाभित्र एक जिल्ला समन्वय समिति बनाई स्थानीय प्रशासन, स्थानीय सङ्घ–संस्था एवम् सरकारमा रहेका तथा अन्य राजनीतिक दलसँग समेत समन्वय गरी राहत र उद्धार कार्य अघि बढाउने तथा मातहतका सबै भ्रातृ एवम् शुभेच्छुक संस्थालाई राहत र उद्धारमा परिचालन गराउने जानकारी दिएको छ । गाउँ, नगर÷नगर वडामा पनि समिति बनाई विपत्तिको सामना गर्न र सक्रियरुपले राहत सङ्कलन तथा वितरण अभियानमा जुट्न पनि पार्टीले निर्देशन दिएको छ ।
पार्टीद्वारा गठित सरकार र सरकारी निकाय समन्वय समितिका संयोजक तथा पार्टीका उपसभापति रामचन्द्र पौडेलले आज एक निर्देशन जारी गर्दै जिल्लामा भइरहेका सबै गतिविधि, पुनःनिर्माण योजना र समस्याको जानकारी केन्द्रलाई गराउन पनि आग्रह गर्नुभएको छ ।
पार्टीका जिल्ला सभापतिहरुलाई सम्बोधन गर्दै सबै जिल्लामा पठाइएको निर्देशनपत्रमा पार्टीका सहयोगी शुभचिन्तकबाट प्राप्त सहयोग रकम राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखाको खाता नं ः ११३०००३७६३०१ मा जम्मा गर्न पनि आग्रह गरिएको छ । बैठकमा नेपाली काँग्रेस भूकम्प पीडित सहयोग कोषको नाममा खाता खोलिएको पनि पत्रमा उल्लेख छ ।
त्यसैगरी काँग्रेसकै नेपाली जनसम्पर्क समिति समन्वय विभागले पनि महाविपत्तिमा परेकाको सहयोगार्थ प्रवासी नेपाली र अन्य क्षेत्रबाट समेत सहयोग जुटाउन अझ बढी क्रियाशील हुन आग्रह गरेको छ । समितिका प्रमुख अर्जुनप्रसाद जोशीले जारी गरेको विज्ञप्तिमा विपत्मा परेकालाई राहत र सहयोग पु¥याउन नेका केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा खोलिएको नेपाली काँग्रेस भूकम्प पीडित सहयोग कोषमा सहयोग रकम जम्मा गर्नु हुन सबै जनसम्पर्क समितिलाई आग्रह गरिएको छ ।
काँग्रेसका जिल्ला समितिहरुलाई राहत संकलन गर्न निर्देशन






