काठमाडौँ, १६ वैशाख । स्थानीय तहको निर्वाचन र संविधान संशोधन लगायतका विषयमा प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकका सम्बन्धमा सरकारमा रहेका दल र प्रमुख प्रतिपक्षी दलबीचमा भएको छलफल र बदलिँदो परिस्थितिका बारेमा कुराकानी भएको थियो ।
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै पक्षसँग भएको छलफल र प्रगतिका बारेमा शीर्ष नेतालाई जानकारी गराउनुभएको थियो । शुक्रबार भएको सर्वदलीय बैठक एवम् त्यसपछिका अनौपचारिक एवम् औपचारिक बैठकको प्रगतिका बारेमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
संविधान संशोधनका विषयमा सहमति जुटाउने लक्ष्यका साथ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसंग भएको छलफलका बारेमा प्रधानमन्त्री दाहाललाई जानकारी गराउनुभएको थियो ।






