विश्वभरका पर्यटकहरुको मुख्य आकर्षण लन्डनको मुटु ट्राफलगर स्क्वायर । सधैं रोमाण्टिक माहोलमा रम्ने उक्त केन्द्र मंगलबार सांझ भने आफैं रोइरहे झैं लाग्थ्यो । वातावरण एकदम सन्नाटा, धेरै नेपालीको आंसु पोखिए त्यहां । नेपालमा भूकम्पका कारण ज्यान गुमाउनेहरुको स्मृतिमा बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले आयोजना गरेको सामूहिक दीप प्रज्वलन कार्यक्रममा स्वतफुर्त करिब ५ हजार सहभागी भएर मृतात्माप्रति श्रद्धाञ्जली अर्पण गरे ![11174782_832106816842430_877118491630038772_n[1]](http://londonnepalnews.com/wp-content/uploads/2015/04/11174782_832106816842430_877118491630038772_n1.jpg)
‘मातृभूमि रुंदा प्रवासमा बस्ने हामी समस्त नेपालीको मन रोएको छ ।’ कार्यक्रमका सहभागी अधिकांश विद्यार्थी र युवा थिए । विकडेजको व्यस्त जागिर तालिका मानिसलाई पर्वाह थिएन । रेल चढेर बेलायतका कुनाकुनाबाट श्रद्धाञ्जलि अर्पण गर्न ओइरिएका थिए नेपाली । लन्डन दूतावासका पदाधिकारीदेखि एनआरएनए यूके र अन्य विभिन्न संघसंस्थाका प्रतिनिधि स्मृतिसभामा सामेल थिए । झन्डै एक घण्टा लामो कार्यक्रमका क्रममा सहभागीले ‘प्रे फर नेपाल’, ‘हाम्रो नेपाल हाम्रो देश प्राण भन्दा प्यारो छ’ लगायतका नारा निकैबेर घन्काए । मृतकहरुको सम्झनामा मौनधारण समेत गरियो । ![11188177_10205026698321389_3810148775186464495_n[2]](http://londonnepalnews.com/wp-content/uploads/2015/04/11188177_10205026698321389_3810148775186464495_n2.jpg)
नेपालको राष्ट्रिय गान बज्दा सबैले स्वरमा स्वर मिलाए । त्यस्तै ‘रातो र चन्द्र सूर्य’, ‘म मरेपनि मेरो देश बांचिरहोस्’ जस्ता राष्ट्रिय भावनाले ओतप्रोत गीत हजारौं सहभागीले एकसाथ गाइरहंदा लन्डनको केन्द्र ट्राफलगर स्क्वायर मिनी नेपाल बनेको थियो । यसैबीच, बेलायती महारानी एलिजावेथले नेपालका राष्ट्रपति डा. रामवरण यादवलाई एक शोक सन्देश पठाउंदै भूकम्पले निम्त्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी छिन् । सन् १९६१ र १९८६ मा दुईपटक नेपाल भ्रमण गरेकी रानीले यूकेका सहायता एजेन्सीहरुले गरेको अपिलमार्फत व्यक्तिगत आर्थिक सहयोग समेत गरेको बेलायती अखवारले जनाएका छन् ।






