५ अप्रिल २०२१,
मनसुधन थापामगर
लण्डन ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको दोस्रो भर्चुअल लाईभ दोहोरी कार्यक्रम भव्य तव्यको साथमा सम्पन्न भएको छ ।
अप्रिल ४ तारिख आईतबारको दिन प्रतिष्ठानले चर्चित लोक तथा दोहोरी कलाकारहरुलाई नेपालबाट निमन्त्रण गरेर जुममार्फत भर्चुअल लाईभ दोहोरी कार्यक्रम आयोजना गरेको हो । भर्चुअल लाईभ दोहोरी कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजिले चर्चित लोक दोहोरी गायीका डिला बि.क.संग २/२ टुक्का दोहोरी गाएर उद्घघाटन गर्नुभएको हो । कार्यक्रममा अध्यक्ष रमेश बिजीले पछिल्लो समयमा विभिन्न प्रविधिको विकाससँगै गीत संगितलाई व्यापार गर्न खोज्ने, सस्तो लोकप्रियता कमाउने र भाईरल हुने नाउमा लोकसंस्कृति धरापमा पर्ने सम्भावना बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
अर्कि विशेष अतिथि एनआरएन युकेका अध्यक्ष पुनम गुरुङले लोक संस्कृति भनेको हाम्रो देशको चिनारी भएको हुनाले यसलाई जोगाइ राख्नको लागि व्यक्तिगतरुपमा र संस्थाको तर्फबाट सधै समर्थन रहने बताउनुभयो । कार्यक्रमका सभापति युके शाखाका अध्यक्ष टंक शेरचनले स्वदेश तथा विदेशमा रहेका कलाकारहरूको सम्बन्धलाई अझ सुमधुर बनाउन र लोक संस्कृतिलाई जगेर्ना गर्न यस किसिमका कार्यक्रमहरुले मद्दत गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा स्थानीय कलाकारहरु कुमार गुरुङ, याम पुर्जा, बिल पुर्जा, टंक शेरचन सीता पौडेल र नर्दन आयरल्याण्ड बाट छम रेग्मी र उहाँको टोलीले आ-आफ्नो प्रस्तुत दिनुभएको थियो भने नेपालदेखि चर्चित लोक तथा दोहोरी गायक, राजु परियार, चन्द्र शर्मा, सुमन थापा र डिला बि.क. अर्जुन सुनाम लगायत कलाकारहरूको प्रस्तुति रहेको थियो ।
विभिन्न संघसंस्थाका प्रतिनिधिहरु समेत उपस्थिति रहेको कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि काठमाडौंमा आलाप स्टुडियो ब्यबस्था गरिएको थियो भने नेपालबाट सहभागी हुने सम्पूर्ण कलाकार आलाप स्टुडियो देखि आफ्नो लाईभ प्रस्तुति दिएका थिए । भर्चुअल जुम मार्फत भए पनि करिव १०० भन्दा बढि दर्शकहरूको सहभागी भएको कार्यक्रम प्रतिष्ठानका सचिव रत्न शाहीले कार्यक्रम संञ्चालन गर्नुभएको थियो ।






