कल्पना भन्छिन सपना रून्छ यहाँ

पराई जस्तै लाग्न थाल्यो, किन आफ्नै मन ?

बाटो भुलेको यात्री जस्तै, ब्याकुल भयो जीवन ।

थाहै नपाइ डेरा गर्यौ, ढुकढुकीको स्वासमा

पानी भनी भुङ्ग्रो पिएँ, प्यास मेटाउने आशमा ।

स्वास चलिरहेकै छ, तर प्राण खोई ?

म त चुप बसेँ तर, मेरो दिल रोई।

 

तिमी मेरो सारा खुसी, तिम्रै भर परेँ

सम्हाल है बन्द ब्यापार, तिम्रै नाम गरेँ ।

बाँकी यात्रा सँगै गरौँ, एकै साथ हिँडी

न हेर है दायाँबायाँ, मैले चढ्ने सिँडी।

तिमी हेरि बस भन्यौ, बोल्ने साहस खोई ?

म त मौन बसेँ तर, मेरो वाणी रोई।

 

यो कस्तो रंगमञ्च, टुटेको यो सितार सित ?

एउटा सङ्गीत चुनेर, गाउनु पर्ने अर्कै गीत ।

मान्छे हेरि अलग अलग, राख्छौ तिमी हिसाब

एकोहोरो भाको मनले, बुझ्दैन है निसाफ ।

मन भरि बैराग साध्छौ, तिम्रो रहर खोई ?

म त चुप बसें तर, मेरो खुसी रोई ।

 

चारैतिर मडारिन्छन, भुत बेताल जता तता

रुवाउने रात जिस्काउने जून, भागी जाउँ लुक्न कता ?

अनगिन्ती रहरहरु, उपहासमा हाँसे

अँध्यारोमा तारा गन्दै, शुभ भाले बासे।

रात भरि जागि बस्छौ, तिम्रो निद्रा खोई ?

म त टोलाई रहें तर, मेरो सपना रोई।

 -०-

कल्पना त्रिपाठी –

समाजसेवी तथा सामाजिक अभियन्ता ,गैर आवासीय नेपाली संघ बेलायत सल्लाहकार -तथा डाइरेक्टर – अक्स् ब्रिज इन्टरनेशनल कलेज नेपाल र लण्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितीमा महासचिव समेत हुन् ।