लण्डनमा नेपाली मेला आज ,भव्य तयारी हुँदै

लन्डन । २७ अगष्ट आइतबार (आज) लन्डनमा हुन लागेको नेपाली मेलामा मौलिक भेषभुषामा आएर मेलामा सहभागी भइदिन लन्डनस्थित तमुधिं यूकेले आव्हान गरेको छ ।

बेलायतवासी झण्डै दश हजार नेपाली आउने अपेक्षा गरिएको मेलामा सहभागी हुन गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घले दम्पतीको उपस्थिति रहनु का साथै लन्डन मेयर सादिक खान समेतको उपस्थिति हुने तमुधिं यूकेका अध्यक्ष ज्ञाम गुरुङले लण्डन नेपाल न्यूज डटकम संग को टेलीफोन कुराकानीमा बताउनु भयो ।

हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका साथ केम्पटन पार्क रेस कोर्समा हुने ९ औं नेपाली मेलाको तयारी तीव्र भएको छ ।

मेला संयोजक तथा तमुधिं यूके उपाध्यक्ष हितकाजी गुरुङले नेपाली मेला भव्य बनाउन ६२ जना सम्मिलित कमिटीले जिम्मेवारीपूर्वक काम गरिरहेको बताए । मेला स्थल बिहान साढे ७ बजे नै खुल्ला गर्ने र दिउँसो १ बजेदेखि झांकी सुरु हुने तमुधिं यूकेले जनाएको छ ।

‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका साथ हुने मेलामा यसवर्ष करिब तीस संघसंस्थाका झांकीसहित युवाहरुका लागि लाइभ म्यूजिक, गीत संगीत, नृत्य प्रतियोगिता, खाना प्रदर्शनी, आदि आकर्षण हुनेछन् । प्रथम पुरस्कार ११ सय पाउण्ड र मेडल दिइने एम्बेसेडर कप तथा नृत्य(झांकी प्रतियोगिता पनि आकर्षणका रुपमा छ । ६ खाना र २५ व्यापारिक तथा च्यारिटी स्टल रहने तमुधिं यूकेले जनाएको छ ।