शीर्ष स्थानको एट्लेटिको पराजित, फाइदा बार्सिलोना र रियललाई

स्पेनिस ला लिगाको अंक तालिकाको शीर्ष स्थानमा रहेको एट्लेटिको म्याड्रिड पराजित भएको छ।

एट्लेटिकोलाई आइतबार राति भएको खेलमा सेभियाले १-० गोलले पराजित गरेको हो।

सेभियाका लागि खेलको ७० मिनेटमा अकुनाले गोल गरेका थिए। उनलाई गोल गर्न नाभासले पास उपलब्ध गराए।

त्यसअघि एट्लेटिकोका गोलकिपर जान ओब्लाकले खेलको आठौं मिनेटमा सेभियाका लुकास ओकाम्पोसको पेनाल्टी प्रहार विफल पारेका थिए।

एट्लेटिकोका साउल निग्युजले सेभियाका इभान राकिटिकलाई फल गरेपछि पेनाल्टी दिइएको थियो।

जितसँगै सेभियाले शीर्ष तीनमा रहेका एट्लेटिको, रियल म्याड्रिड र बार्सिलोनालाई दबाब दिएको छ। हारपछि एट्लेटिकोले शीर्ष स्थानमा अग्रता बढाउने अवसर गुमाएको छ।

शीर्ष स्थानको एट्लेटिकोको २९ खेलबाट ६६ अंक छ। दोस्रो स्थानको रियलको ६३ अंक छ।

एक खेल कम खेलेको बार्सिलोना ६२ अंकसहित तेस्रो स्थानमा छ। आगामी खेलमा जित हात पारे बार्सिलोना दोस्रो स्थानमा उक्लनेछ भने एट्लेटिकोसँगको अंक दूरी १ मा झार्नेछ।