शिब भण्डारी
लण्डन । बेलायतको होम अफिसले आधिकारिक रूपमा १० वटा शर्तहरू पुरा गरेपछि भूतपूर्व गोर्खा सैनिकका ३० वर्ष सम्मका सन्ततिहरू बेलायतको आबसिय अधिकार दिने घोषणा ५ जनवरी २०१५मा गरेपनि कतिपय आवेदनहरू होम अफिसले अस्विकृत गरेको पाइन्छ ।
मुख्यतया पारिवारिक जिवनका लागि आर्थिक र भावनात्मक सम्बन्ध सुदृढका नभएका कारण ३० वर्ष मुनिका सन्ततिहरूको आवेदन पनि अस्विकार गरेको पाइन्छ । ३० वर्ष माथिका भूपू सैनिकका सन्ततिहरु र भूपू गोर्खाका विधवा महिला (एकल महिला) का सन्ततिहरु होम अफिसको अध्यागमन नियमभित्र नपरेका कारण आवेदन अस्विकृत भएपनि बेलायतको अदालतले उदारवादी निति अबलम्बन गरेर पारिवारिक सम्बन्ध(मानव अधिकार) का आधारमा प्रशस्त मुद्दाहरू जितेको र बाबुआमासंग बेलायत बस्न पाउने निर्णय भएको कानुनविदहरू बताउँछन् ।
यस क्रममा बेलायतमा धेरै संख्यामा भूपु गोर्खा सैनिकका वयस्क सन्ततीहरू बेलायत प्रवेश भएको छ ।भूपु सैनिकसंग नजिक भएर र गोर्खाली आन्दोलनलाई नजिकबाट बुझेका लन्डनस्थित एभरेष्ट ल सोलिसिटरका प्रिन्सिपल सोलिसिटर राजु थापाले आफ्नो फर्मबाट मात्र कानुनी लडाईबाट करिब तीन हजार जना वयस्क सन्ततिले न्याय पाएर बेलायल प्रवेश गरेको बताएका छन् ।
सोलिसिटर थापाले यस सफलताको पछाडि बलियो कानुनी टिम, कुशल व्यारिस्टरहरुको बहश, मुद्दा सफलताका लागि बलियो प्रमाण, आर्थिक,र भावनात्मक सम्बन्ध भएको ठोस सबुद प्रमाण,निवेदक बाबुआमा र बेलायतमा रहेका दाजुभाई दिदी बहिनिको विस्तृत रुपमा बयान, नेपाली संस्कृति र परम्परा अनुसार उमेर काटेका छोराछोरीहरु एउटै परिवारको रूपमा रहेको र उमेरको हदबन्दीभन्दा बढि भएता पनि के कस्तो अवस्थामा पारिवारिक जिवन बिताएको र ऐतिहासिक अन्याययको कारणबाट परिवार पृथक भएको आदि विविध कारणबाट मुद्दामा सफलता हासिल हुने उनि बताउछन।यहि कारणबाट आफ्नो फर्मले लगभग ९५ प्रतिशत मुद्दा जितेको र बेलायतमा भुपु गोर्खाका बयस्क सन्ततीले न्याय पाई बेलायत प्रवेश गरेकोमा आफु उत्साहित र गौरबन्दित भएको उनी बताउँछन् ।
‘सोलिसिटर थापाले आफ्नो फर्मबाट गरेको मुद्दामा ५६ वर्ष सम्ममा वयस्क सन्तान बेलायत आएको, एक बिधबा एकल महिलाले पहिला २ सन्तान मुद्दा जितेर ल्याएको र एकै पटकमा अदालतको फैसलाले २९ देखि ५२ वर्ष सम्मका ८ जना सन्ततिहरु गरि १० जना लाई बेलायत ल्याउन सफल भएको उनले बताए ।
विवाहित र सम्बन्ध विच्छेद पश्चात त्यस्ता छोराछोरी र नाती नातिनाको हकमा लगभग ८ वटा जति केस मानवअधिकारको आधारमा बलियो पारिवारिक जीवन भएको अदालतले व्याख्या गरेको थियो ।त्येस्ता सन्ततीको प्रवेश हुनु ठूलो चूनौति र उपलब्धीमुलक भएको थापा बताउँछन् ।
‘कसैले पनि आफ्नो व्यक्तिगत विवरण लुकाउनु हुँदैन ,यदि वयस्क सन्ततीहरु विदेश गएको अवस्थामा सो जानु परेको कारण आर्थिक कमजोरी (पेन्सन नभएको) र पेन्सन भए तापनि त्येस बाट जीवन निर्बाह नभएको आदि कारण बाट पनि मुद्दा सफल भएको जानकारी छ ।
बाबुआमाले छोराछोरी स्वाबलम्बी बनोस् र आफ्नो जिवनमा केहि गर्न सकोस् भनी विदेश बाध्यताको कारण गएको हुन सक्छ । अदालतले वास्तविकता जान्न चाहन्छ । कुनै पनि व्यक्तीले झुट्टा विवरण दिएमा सत्यता लुकाउन खोजेमा अदालतले विश्वसनियताको प्रश्न उठाउनेछ र त्यस्ता सन्ततिहरू सदैवको लागि बेलायत आउन वञ्चित हुन सक्नेछ ।
‘बाबुआमाको छोराछोरीसंग र छोराछोरीको बाबुआमासंग बस्न पाउनु नै नैसर्गिक अधिकार हो । नातामा छोराछोरी भएर मात्रै पुग्दैन यसका लागि आर्थिक र भावनात्मक सम्बन्ध हुन धेरै जरुरी छ ।’ थापाले भने ।






