प्रमुख युरोपेली दातृराष्ट्र नर्वेले नेपालका भुकम्प पीडितलाई सहयोग गर्न थप १ सय मिलियन क्रोनर (१अरब३२ करोड रुपैयाँ) दिने भएको छ।
यसअघि गत शनिबार नेपाल सरकारले भुकम्प पीडितको उद्दारमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायमा आव्हान गरे लगत्तै नर्वेले पहिलो चरणमा ३० मिलियन क्रोनर (४० करोड रुपैयाँ) राहत तत्काल घोषणा गरेको थियो।
नर्वेकी प्रधानमन्त्री अर्ना सुल्बर्गले आज साँझ राजधानी ओस्लोमा आयोजित पत्रकार सम्मेलनमा सो घोषणा गरेकी हुन्। उनले भनिन्,‘राजधानी काठमान्डौ बाहिरका पीडितहरुकोसमेत उद्धार र तत्काल उपचारपछि भुकम्प पीडित बालबालिकाहरुको सुरक्षा र उनीहरुको पठन पाठनका लागि सो रकम खर्च गर्न नर्वे इच्छुक रहेको छ।’
खासगरी भुकम्प प्रभावित क्षेत्रमा हैजा तथा महामारी फैलिन नदिन, पिडित हरुको उद्धार र उपचारमा प्राथमिकता दिइने नर्वेका विदेश मन्त्री बोर्गे ब्रेन्देले सो अवसरमा बताए।
रेडक्रस नर्वेले अर्को सातादेखि भुकम्प पीडित विकट ग्रामिण क्षेत्रमा ६० शैयाको घुम्ती अस्पताल सञ्चालन गर्न संयुक्ता राष्ट्र संघबाट स्वीकृति पाएको र त्यसको तयारी भैरहेको समेत उनले बताए।
यसैबीच नर्वेस्थित विभिन्न संघ, संस्थालेसमेत भुकम्प पीडित नेपालीलाई सहयोगका लागि आर्थिक संकलन अभियान सञ्चालन गरेर करोडौं रूपैयाँ संकलन गरेका छन्। रेडक्रस र सेभ र चिल्ड्रेन नर्वे (रेड बार्ना) ले मंगलबार साँझ सम्म झन्डै २६ मिलियन क्रोनर (पैतिस करोड रुपैयाँ) संकलन गरेको जनाएका छन्।







