कुन बैंकका प्रमुखले कति तलब खान्छन्, कति प्रतिफल दिन्छन ?

२२  चैत, काठमाडौं । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत जशिन जोशीले आर्थिक वर्ष ०७०/०७१ मा बैंकबाट तलब/भत्ताबापत १ करोड ९० लाख रुपैयाँ रकम बुझे । जोशीले बैंकबाट लिएको तलब/भत्ता मासिकरुपमा हेर्दा १५ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ पर्छ । उनको दैनिक तलब सुविधा दिनमा ५२ हजार ७ सय ७७ रुपैयाँ हुन्छ ।

नेपाल बैंकर्स संघका पूर्वअध्यक्षसमेत रहेका जोशी सबैभन्दा धेरै तलब/भत्ता बुझ्ने नेपाली बैंकर हुन् ।

धेरै तलब/भत्ता लिने दोस्रो स्थानमा मेगा बैंकका सीइओ अनिलकेशरी शाह छन् । शाहले गत आर्थिक वर्ष बैंकबाट १ करोड ७५ लाख रुपैयाँ बुझे ।

तेस्रोमा इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे छन् । उनले गत आर्थिक वर्ष बैंकबाट १ करोड ५७ लाख रुपैयाँ लिए ।

शेयर धनीले पाउने प्रतिफल

धेरै तलब बुझ्ने नेपाली बैंकहरहरुले सेयरधनीलाई कस्तो प्रतिफल दिएका छन त ? बैंकले दिएको प्रतिफललाई आधार मानेर अनलाइनखबरले सीइओहरुको कार्यसम्पादन मूल्यांकन (प्रफर्मेन्स) सम्बन्धी विश्लेषणात्मक आलेख तयार पारेको छ ।

संस्थाले सेयरधनीलाई दिने प्रतिफल र संस्थाको ख्याति (गुडविल)ले सीइओलाई संस्थाले दिएको तलब/भत्ता अनुसार काम गरे/नगरेको प्रमाणित गर्ने सेयर विश्लेषक रविन्द्र भट्टराई बताउँछन् । यसआधारमा धेरैजसो नेपाली बैंकका सीइओहरुले आफूले बुझेको तलब/भत्ता अनुसार सेयरधनीलाई प्रतिफल दिन नसकेको उनको विश्लेषण छ ।

‘सीइओहरुको कार्यसम्पादन (प्रफर्मेन्स) मूल्यांकन उनीहरुले सेयरधनीलाई प्रदान गरेको लाभांश, सेयरको मुल्य र सेयरधनीको लगानीमा आर्जन गरेको प्रतिफल (इक्विटीमा प्रतिफल वा रिटन अन इक्विटी)ले मापन गरिन्छ ।

वासलात (ब्यालेन्स सिट)को आकारले निर्धारण गर्दैन ।’ भट्टराईले  भने- ‘यी सूचकांकलाई आधार मान्दा लगानीकर्ताको दृष्टिकोणबाट धेरैजसो नेपाली बैंकका सीइओहरुको प्रफर्मेन्स कमजोर देखिएको छ ।’

तलबमा पहिलो, प्रतिफलमा १३ औं

सीइओलाई सबैभन्दा धेरै तलब दिने एनआइसी एसिया बैंकले सेयरधनीलाई पाँच वर्षमा २४.२६ प्रतिशत मात्रै औषत लाभांस दिएको छ ।
त्यस्तै, चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले सेयरधनीको लगानीमा १४.८० प्रतिशत प्रतिफल आर्जन गरेको छ । सीइओलाई तलब दिने बैंकको सूचीमा एक नम्बरमा रहेको यो बैंक सेयरधनीलाई लाभांश दिने सूचीमा भने छैठौं र इक्विटीमा प्रतिफल  आर्जन गर्ने बैंकहरुको सूचीमा १३ औं स्थानमा छ ।


तलबमा दोस्रो, प्रतिफलमा २२ औं

त्यस्तै सीइओलाई दोस्रो धेरै तलब दिने मेगा बैंक सेयरधनीलाई लाभांस दिने बैंकहरुको सूचीमा २३ औं र इक्विटीमा प्रतिफल आर्जन गर्ने बैंकहरुको सूचीमा २२औं स्थानमा छ । बैंक सञ्चालनमा आएको पाँच वर्ष पुगेको छ । यसअवधिमा बैंकले लगानीकर्तालाई ४.३३ प्रतिशत औषत लाभांश दिएको छ भने इक्विटीमा ११.५६ प्रतिशत प्रतिफल आर्जन गरेको छ ।

तलब र प्रतिफल दुबैमा तेस्रो

सीइओलाई धेरै तलब दिने बैंकहरुको सूचीमा तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक सेयरधनीलाई धेरै लाभांस दिने बैंकहरुको सूचीमा चौथो र इक्विटीमा प्रतिफल दिनेमा तेस्रो स्थानमा छ । बैंकले सेयरधनीलाई पाँच वर्षमा औषत ३६ प्रतिशत लाभांस  प्रदान गरेको छ र यो वर्षको दोस्रो त्रैमासमा २४.३७ प्रतिशत इक्विटीमा प्रतिफल आर्जन गर्न सफल भएको छ ।

तलबमा चौथो, प्रतिफलमा २४औं

त्यस्तै, सीइओलाई धेरै तलब दिने सिभिल बैंक सेयरधनीलाई लाभांस दिने बैंकहरुको सूचीमा २५ औं र इक्विटीमा प्रतिफल दिने बैंकहरुको सूचीमा २४औं छ ।

बैंकले सञ्चालन भएको चार वर्षमा सेयरधनीलाई औषत २.८५ प्रतिशत  लाभांश दिएको छ भने गत दोस्रो त्रैमाशमा सेयरधनीको पुँजीमा ११.५४ प्रतिशत प्रतिफल आर्जन गरेको छ ।

तलबमा पाँचौं, प्रतिफलमा तेस्रो

सीइओलाई तलब दिने बैंकहरुको सूचीमा पाँचौं स्थानमा रहेको स्टान्डर्ड चार्टर्ड बैंक सेयरधनीलाई लाभांस दिने बैंकको सूचीमा दोस्रो र सेयरधनीको पुँजीमा प्रतिफल आर्जन गर्नेे बैंकको सूचीमा तेस्रो नम्बरमा छ ।

स्टाडर्ड चाटर्ड बैंकले लगानीकर्तालाई पाँच वर्षमा औषत ५६.३० प्रतिशत लाभांस दिएको छ भने यो वर्षको दोस्रो त्रैमासमा २२.४८ प्रतिशत इक्विटीमा प्रतिफल कमाएको छ ।

तलबमा छैठौं, प्रतिफलमा १२ औं

सीइओलाई धेरै तलब दिने बैंकहरुको सूचीमा छैठौं नम्बरमा रहेको एनएमबि बैंक सेरधनीलाई लाभांस दिने बैंकहरुको सूचीमा  १५औं र इक्विटीमा प्रतिफल आर्जन गर्ने बैंकको सूचीमा १२औं नम्बरमा छ ।

तलबमा सातौं, प्रतिफलमा १४औं

सीइओलाई बढी तलब दिने सातौं नम्बरमा रहेको लक्ष्मी बैंक सेयरधनीलाई लाभांश दिनेमा १४औं र इक्विटीमा प्रतिफल  आर्जन गर्ने बैंकहरुको सूचीमा सातौं स्थानमा छ ।

तलबमा आठौं, प्रतिफलमा १२औं

सीइओलाई तलब/भत्ता दिनेमा ८औं स्थानमा रहेको लुम्बीनी बैंक लगानीकर्तालाई प्रतिफल दिनेमा १२ स्थानमा छ ।

तलबमा नवौं, प्रतिफलमा आठौं

सीइोलाई तलब दिनेमा नवौं स्थानमा रहेको प्राइम बैंक सेयरधनीलाई प्रतिफल दिनेमा आठौं नम्बरमा देखिएको छ ।

तलबमा १० औं, प्रतिफलमा पहिलो

तर, सीइओलाई धेरै तलब दिने १०औं स्थानमा रहेको नविल बैंक सेयरधनीलाई लाभांश र इक्विटीमा प्रतिफल दिने दुबैको सूचीमा पहिलो नम्बरमा छ । नविलले सेयरधनीलाई ६४ प्रतिशत औषत लाभांस दिएको छ भने २९.०९ प्रतिशत इक्विटीमा प्रतिफल दिएको छ ।

जसअनुसार सीइओलाई सबैभन्दा बढी तलब दिने एनआइसी एशियामा सय रुपैयाँ लगानी गर्ने सेयरधनीले पाँच वर्षमा २४ रुपैयाँ २६ पैसा लाभांस पाए भने सीइओलाई धेरै तलब दिने १०औं नम्बरमा पर्ने नविल बैंकका सेयरधनीलेा पाँच वर्षको अवधिमा ६४ रुपैयाँ लाभांस पाएका छन् ।

सेयरधनीको सय रुपैयाँ लगानीमा एनआइसि एसियाले १४ रुपैयाँ प्रतिफल आर्जन गरेको छ भने नविलले २९ रुपैयाँ आर्जन गरेको छ ।

तलबमा १९ औं, प्रतिफलमा दोस्रो

सीइओलाई तलब दिने बैंकहरुको सूचीमा १९औं  स्थानमा रहेको एभरेष्ट बैंक सेयरधनीलाई प्रतिफल दिने बैंकहरुमा भने दोस्रो नम्बरमा परेको छ ।

एभरेष्ट बैंकले यो आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सेयरधनीको पुँजीमा २८ प्रतिशत प्रतिफल आर्जन गरेको छ । बैंकले पाँच वर्षमा सेयरधनीहरुलाई औषत ५४ प्रतिशत लाभांश दिएको छ ।


कुन बैंकको अवस्था के छ ?

त्यसैगरी प्रमुख कार्यकारी अधिकृतलाई वर्षमा साढे ९७ लाख रुपैयाँ तलब/भत्ता दिने ग्लोबल आइएमई बैंकले बितेका पाँच वर्षमा सेयरधनीलाई औषत १५ प्रतिशत लाभांश दिएको छ भने सेयरधनीको इक्विटीमा १६ प्रतिशत प्रतिफल कमाएको छ । त्यस्तै सीइओलाई ८७ लाख रुपैयाँ तलब दिने हिमालयन बैंकले सेयरधनीलाई पाँच वर्षमा औषत २० प्रतिशत लाभांस दिएको छ भने क्विटीमा १९ प्रतिशत प्रतिफल आर्जन गरेको छ ।

सीइओलाई ८५ लाख रुपैयाँ तलब दिने बैंक अफ काठमाण्डूले सेयरधनीको इक्विटीमा १६ प्रतिशत प्रतिफल आर्जन गरेको छ । त्यस्तै, सीइओलाई ८४ लाख रुपैयाँ तलब/भत्ता दिने सानिमा बैंकले सेयरधनीको इक्विटीमा १९ प्रतिशत प्रतिफल आर्जन गरेको छ । सीइओलाई ८४ लाख रुपैयाँ दिने सिद्धार्थ बैंकले सेयरधनीको इक्विटीमा २१ प्रतिशत प्रतिफल दिएको छ ।

सीइओलाई ८१ लाख रुपैयाँ तलब/भत्ता दिने सेञ्चुरी बैंकले सेयरधनीलको इक्विटीमा ८ प्रतिशत प्रतिफल आर्जन गरेको छ । त्यस्तै, सीइओलाई ७८ लाख रुपैयाँ तलब/भत्ता दिने सिटिजन बैंकले इक्विटीमा २० प्रतिशत प्रतिफल आर्जना गरेको छ ।

त्यसैगरी, सीइओलाई ७५ लाख रुपैयाँ तालब/भत्ता दिने माछापुछ्रे बैंकले सेयरधनीको इक्विटीमा २० प्रतिशत नाफा आर्जन गरेको छ भने सीइओलाई ६९ लाख रुपैयाँ तलब दिने कुमारी बैंकले सेयरधनीको पुँजीमा १२ प्रतिशत प्रतिफल आर्जन गरेको छ ।

त्यस्तै, सीइओलाई ६८ लाख रुपैयाँ तलब दिने सनराइज बैंकले सेयरधनीको पुँजीमा १६ प्रतिशत प्रतिफल आर्जन गरेको छ । त्यसैगरी सीइओलाई ५२ ला खरुपैयाँ तलब दिने एनबी बैंकले सेयरधनीको पुँजीमा १६ प्रतिशत प्रतिफल आर्जन गरेको छ । सीइओलाई ४९ लाख रुपैयाँ तलब दिने एनसीसी बैंकले सेयरधनीको पुँजीमा १८ प्रतिशत प्रतिफल कमाएको छ भने सीइओलाई ४७ लाख रुपैयाँ तलब दिने एसबीआइ बैंकले सेयरधनीको पुँजीमा २२ प्रतिशत प्रतिफल कमाएको छ ।

सीइओलाई ८७ लाख रुपैयाँ तलब दिने ग्राण्ड बैंकले सेयरधनीको पुँजी प्रतिफल होइन उल्टो ३० प्रतिशत नोक्सानी व्यहोरेको छ । ग्राण्ड बैंकका तत्काली प्रमुख कार्यकारी अधिकृत सुधीरबाबु खत्रीले वाषिर्क ६ लाख रुपैयाँ बढी तलब/भत्ता बुझ्थे ।

राष्ट्र बैंकले बैंकका ग्राहक तथा घरजग्गा व्यवसायी सुधीर बस्नेतसँग गैरकानूनीरुपमा कारोबार गरेको फेला पारेपछि राजिनामा दिएर अमेरिका हानिएका छन । खत्रीपछि ग्राण्ड बैंकको व्यवस्थापन पर्शुराम कुँवर क्षेत्रीले सम्हालेका थिए । उनले पनि गत मंसिरमा राजिनामा दिए ।

ग्राण्ड बैंकले गत वर्षको वाषिर्क प्रतिवेदन सार्वजानिक गरेको छैन । यो वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन अनुसार बैंकले सेयरधनीको लगानीमा नाफा होइन उल्टो ३० प्रतिशत नोक्सानी दिएको छ ।

तत्कालीन किष्ट बैंकलाई प्रभू विकास बैंकले आफूमा गाभेर गत भदौ ३० गतेदेखि प्रभू बैंकको रुपमा एकीकृत कारोबार गरेको छ । त्यसैले यो समाचारमा प्रभु बैंकका सीइओ अशोक शेरचनको तलब/भत्ता र कार्यसम्पादन मुल्यांकन उल्लेख नगरिएको हो ।

तत्कालीन किष्टका कार्यकारी प्रमुख कमल ज्ञवालीले बैंकबाट मासिक सात लाख रुपैयाँको हाराहारीमा बुझ्थे । ज्ञवालीविरुद्ध प्रहरीले कर्जा दुरुपयोग गरेको भन्दै अदालतमा मुद्दा दायर गरिसकेको छ ।

नेपालका ३० वटा वाणिज्य बैंकहरुमध्ये १० बैंकका प्रमुख कार्यकारी अधिकृतले गत आर्थिक वर्ष १ करोड रुपैयाँ बढी तलब/भत्ता लिएको सम्बन्धित बैंकको वाषिर्क प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै १४ बैंकका सीइओको तलब ५० लाख रुपैयाँ माथि र करोडभन्दा कम छ भने ६ वटा बैंकका सीइओको तलब ५० लाख भन्दा कम छ । राष्ट्रिय वाणिज्य बैंकका सीइअो कृष्णप्रसाद शर्माले ३२ लाख र कृषि विकास बैंकका सीइअो तेजप्रसाद बुढाथोकीले २८ लाख रूपैयाँ बुझे । गत वर्ष सबैभन्दा कम नेपाल बैंकका कार्यकारी प्रमुख महेश्वरलाल श्रेष्ठ लिए । उनले वर्षभरीमा ८ लाख रुपैयाँ लिए ।

संसारभर नै अन्य क्षेत्रको तुलनामा बैंकरहरुको तलब धेरै हुन्छ । सञ्चालक समितिले सीइओहरुलाई प्रफर्मेन्सका आधारमा तलब दिएका हुन्छन् । तर, नेपालमा भने कार्यसम्पादनका आधारमा भन्दा सीइओको ब्राण्डका आधारमा तलब दिने प्रवृत्ति हावी भएको सेयर विश्लेषक भट्टराईको भनाइ छ ।

सरकारी बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारण सेयर जारी गरेको छैन । वाणिज्य बैंकका सीइओले गत वर्ष बैंकबाट ३१ लाख रुपैयाँ बुझे भने कृषि विकास बैंकको सीइओले २८ लाख रुपैयाँ बुझे ।

कृषि विकास बैंकले गत वर्ष र यो वर्ष प्रतिफल दिएको छ । नेपाल बैंकले प्रतिफल दिन सकिरहेको छैन । निजी क्षेत्रद्धारा प्रवर्द्धित बैंकहरुको तुलनामा सरकारी बैंकका कार्यकारी प्रमुखको तलब/भत्ता पनि निकै कम छ । यद्यपि सरकारी बैंकका सीइओहरुले पनि उपलब्ध साधान र स्रोतको प्रभावकारी परिचालन गर्न सकेका छैनन् ।

राष्ट्र बैंकको नियन्त्रण

धेरै तलब/भत्ता लिएको भन्दै तत्कालीन गभर्नर डा. युवराज खतिवडाको सक्रियतामा राष्ट्र बैंकले अढाई वर्ष वर्षअघि नै सीइओको तलब/भत्ताको सीमा तोकेको थियो । राष्ट्र बैंकले बैंकहरुको तीन वर्षको औषत कर्मचारी खर्चको बढीमा ५ प्रतिशत र संस्थाको गत वर्षको कूल सम्पत्तिको बढीमा ०.०२५ प्रतिशत मात्रै सीइओको तलब/भत्ता हुनुपर्ने व्यवस्था गरेको थियो ।

खाईपाई आएको तलब/भत्तालाई भने उक्त व्यवस्था आकषिर्त नहुने राष्ट्र बैंकले जनाएको छ । यद्यपि यो निर्देशनमा बैंकरहरुले राष्ट्र बैंक खुला बजार अर्थतन्त्रबाट भागेको भन्दै तीब्र आलोचना गरेका थिए । नयाँ गभर्नर डा. चिरञ्जीबी नेपालसँग यो व्यवस्था हटाइदिन बैंकरहरूले लविंग सुरू गरिसकेका छन् ।

– अनलाइनखवरबाट