कोरोना संक्रमण बढेपछि फ्रान्स र पोल्यान्डमा फेरि लकडाउन

लन्डन। कोरोना संक्रमण बढेपछि फ्रान्समा पुनः लकडाउन घोषणा गरिएको छ। फ्रान्समा लकडाउन घोषणा गरिएको यो तेस्रो पटक हो ।सुक्रबार राती देखी विभिन्न प्रतिबन्धहरु लागु गरिने बीबीसीले उल्लेख गरेको छ । पहिलो भएको लकडाउन जस्तो कडा प्रतिबन्ध नहुने प्रधानमन्त्री जिन कासटेक्सले बताउनुभएको छ ।

लकडाउन अवधिमा अत्यावश्यक बस्तुहरुका पसलहरु खाद्यान्न, औषधि पसल, सूर्तिजन्य र पत्रिका पसल, गाडी सर्भिसिङ सेन्टरहरु र किताब पसलहरुबाहेक अन्य सबै पसलहरु बन्द रहनेछन् । स्कुल र कलेजहरु खुलै हुनेछन् भने विश्वविद्यालयहरु भने बन्द रहनेछन् । रेस्टुरेन्टहरुले भने स्वास्थ्य नियमहरुको कडा पालन गर्दै टेक अवे सुविधा दिन पाउनेछन् ।

लकडाउन गरिएका क्षेत्रबाट लकडाउन नगरिएका क्षेत्रको प्रवेशबीचको आवागमनलाई पूर्णरुपमा निषेध गरिएको छ । पेसागत, उपचार वा अन्य अत्यावस्यक कारणले यात्रा गर्नुपर्नेले कारण खुलेको प्रमाणका साथ यात्रा गर्नुपर्ने छ । लकडाउन गरिएका क्षेत्रमा साँझ सात बजेदेखि कर्फ्यु घोषणा गरिएको छ ।

आउटडोर गतिविधिहरूलाई प्रमाणपत्र प्रस्तुत गर्ने सर्तमा छुट दिईने छ । यस्तो गतिबिधी आफ्नो ठेगानाबाट १० किमी भित्रै सीमित राख्नुपर्ने छ ।

फ्रान्समा २४ घण्टाको अवधिमा ३५ हजार नयाँ संक्रमण भेटिएको छ । पेरीसका अस्पतालमा १ हजार २ सय जनाको हाल सघन उपचार कक्ष आइसियुमा उपचार गरिरहेको स्वास्थ्य मन्त्री ओलीभर भेरानले बताए । सो संख्या गत नभेम्बरमा महामारीको समय भन्दा बढि हो ।

पोल्यान्डमा शनिबारदेखि तीन हप्ताकालागि लकडाउन घोषणा गरिएको छ। यो समयमा पसल, होटल, सांस्कृति र खेलकुद क्षेत्र बन्द गरिने भएको छ। दुवै देशमा मानिसहरुको हिँडडुलमा भने प्रतिबन्ध लगाइएको छैन तर अनावश्यक भिडभाड नगर्न र सतर्कता अपनाउन भनिएको छ।