राष्ट्रपतिको पहिलो महिनाको तलब पशुपतिनाथलाई

bidhya

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र कल्याण र विश्व कल्याणको कामना गर्दै सोमबार पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्नुभएको छ ।

मुलुकमा भइरहेको सङ्कटबाट मुक्ति मिलोस् भन्ने कामना गर्दै राष्ट्रपति भण्डारीले राष्ट्र कल्याणको सङ्कल्पसहित विशेष पूजा गर्नुभएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टन्डनले जानकारी दिनुभयो ।

“राष्ट्रपति भण्डारीले पञ्चामृत र अभिषेकसहित राष्ट्र कल्याण र विश्व कल्याणको कामनाका लागि सङ्कल्प गरी विशेष पूजा गर्नुभएको छ, बिहान १०:२० बजे पशुपतिनाथ मन्दिर प्राङ्गणमा आइपुग्नुभएका राष्ट्रपतिले मन्दिर परिक्रमा विधिअनुसार प्रवेश गरी वासुकीनाथ र मूल मन्दिरमा पनि विशेष पूजा भक्ति निष्ठापूर्वक गर्नु भएको छ” – सदस्यसचिव डा टन्डनले भन्नुभयो ।

राष्ट्रपति भण्डारीले शेषनारायण, लालगणेश, सूर्यनारायण, गङ्गामाई, सन्तापहरेश्वर, कीर्तिमुख भैरव, सितलामाई, चतुःषष्टि महादेव, उन्मुक्त भैरव र नवग्रहको दर्शन गरेर मूल भट्ट र अन्य भट्टद्वारा विशेष पूजा अर्चना गर्नुभएको कोषका निर्देशक भरत मरासिनीले जानकारी दिनुभयो ।

राष्ट्रपति निर्वाचित भएपछि भण्डारीको यो पहिलो पशुपतिनाथमा पूजा एवम् दर्शन हो । यसक्रममा उहाँले राष्ट्रपति भएपछि पहिलो महिनाको तलब रु एक लाख २१ हजार ३६० पशुपतिनाथमा अर्पण गर्नुभएको कोषका प्रमुख लेखा अधिकृत प्रेमहरि ढुङ्गानाले जानकारी दिनुभयो ।

राजतन्त्र कालमा राजाले पनि पर्व पर्वमा पशुपतिनाथमा दर्शन एवम् पूजा गर्ने परम्परा थियो ।