क्यानडामा राहत संकलन तीब्र:

earthquake

 क्यानडा सरकारले नेपालमा महाभूकम्पबाट पीडितहरुको सहयोगका लागि १२० बेडको अस्पताल सुविधासहितको मेडिकल टोलीलाई सोमबार काठमाडौं पठाएको छ । अत्याधुनिक सर्जिकल उपकरणसहित क्यानडा रेडक्रसमार्फत गएको २५ जनाको विज्ञ टोलीले ठूलो मात्रामा चिकित्सकीय समग्री लिएर गएको छ । टोलीले आवश्यकता परुन्जेल नेपालमा सघाउने छ ।

अहिले गएको मेडिकल टोलीले अस्पताल स्थापना गर्न आवश्यक सयौँ पालहरु, औषधी तथा भूकम्पीय विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने चिकित्सकीय उपकरण तथा सामग्री, पानी शुद्धीकरण गर्ने सामग्रीसाथ लगेको छ । पीडितका लागि ३६ हजार किलो राहत सामग्रीसहित गएको उक्त टोली युरोप, कुवेत भारत हुँदै नेपाल सरकारको अनुमतिपछि घटनाक्षेत्रमा काममा खटिने अकिारीहरुले जनाएका छन् ।

क्यानडास्थित नेपाली दूतावासका कन्सुलर दिलिपकुमार पौडेलले क्यानडा सरकारले नेपालको विपत्तीप्रति गम्भीर चासो दूतावाससित निरन्तर सम्पर्क र सहकार्यका लागि पहल गरिरहेकेा बताए ।

‘यहाँको सरकारको उच्च निकायसित राजदूतको निरन्तर कुराकानी भइरहेको छ,’ कन्सुलर पौडेलले कान्तिपुरसित भने, ‘उनीहरु अत्यन्त गम्भीर छन् । चाहिएको जुनसुकै सहयोग गर्न तयार रहेको जानकारी दिएका छन् । हामीले त्यसका लागि समन्वयसहित अवस्थाको जानकारी गराइरहेक छौं । आवश्यक अनुसार अन्य चिकित्सकीय तथा अन्य सहयोग गर्न क्यानडा सरकार तयार देखिएको छ ।’

क्यानडा सरकारले भूकम्पपछि नेपाललाई ५० लाख डलर (करिब ४० करोड रुपैयाँ) सहयोग घोषणा गरेको छ । सहयोग क्यानेडियन रेडक्रसमार्फत जानेछ । उक्त सहोग पीडितको खाना, बास, औषधी उपचार र स्वस्थ पानीका लागिखर्च गरिने अधिकारीहरुले जनाएका छन् । क्यानडा रेडक्रस तथा अन्या सहयोगी संस्थाले राहतका लागि सार्वजानिक आहृवान गरेका छन् ।