सुरु भयो भरतपुर – १९ को मतगणना

काठमाडौं- शुक्रबार मध्यरातदेखि भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना सुरु गरिएको छ । शुक्रबार नै भतरपुर १९ मा सर्वोच्चको आदेश अनुसार पुनः मतदान भएको थियो ।

चितवनका पत्रकार प्रकाश सिग्देलका अनुसार राजनीतिक दलसँगको सहमतिपश्चात् राती साढे ११ बजेको आसपासबाट स्थानीय कराँते कवर्डहलमा मतगणना सुरु गरिएको हो ।
मतगणना सुरु गर्नु अघि बसेको सर्वदीय बैठकले मतगणना तत्काल सुरु गर्ने निर्णय गरेको थियो भने सोहि अनुसार ४ समूह बनाएर मतगणना सुरु गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार कुनै किसिमको समस्या आउन नदिनका लागि मतगणनास्थलमा तीन वटा र बाहिर दुई वटा सिसी क्यामेरा समेत जडान गरिएको छ ।
मतगणनास्थलमा दलका प्रतिनिधि बस्ने स्थानमा तारजाली लगाइएको छ । दलका प्रतिनिधि जालीभित्र रहनेछन् भने बाहिर कर्मचारीले मतगणना गर्नेछन् ।
भरतपुर महानगरको मेयरमा एमालेका देबी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहाल चुनावी मैदानमा छन् ।

यसअघि जेठ १४ गते मतगणना अन्तिम चरणमा पुग्दै गर्दा दलीय प्रतिनिधिले मतपत्र च्यातेपछि सो विषय सर्वोच्चसम्म पुगेको थियो र सर्वोच्चको फैसलाअनुसार आज पुनः मतदान भएको हो ।