२ लाख ९४ हजार क्विन्टल खाद्यान्न गोदाममा
काठमाडौं, १० असोज । उपभोक्ताहरुलाई भने खाद्यान्नको अभाव हुने चिन्ताले पिरोल्न थालेको छ। यही पिरलोका कारण कतिपय उपभोक्ताले खाद्यान्न धेरै मात्रामा खरिद गरेर जोहो गर्नतिर लागेका छन्। भारतले नाकाबन्दी गर्ने हल्लाका कारण उपभोक्ताहरुलाई खाद्यान्नको चिन्ता बढेको हो।
अन्य समयमा ३०-३० केजीको चामलको बोरा सकिएपछि मात्रै किन्ने गरेकी बुद्धनगरकी रमिला बरालले यतिखेर ३ वटा बोरा भण्डारण नै गरेर राखेकी छिन्। ‘चाडपर्व नजिकिँदै गरेको छ, त्यसकारण चाडपर्वलाई पनि पुग्नेगरी राखेकी हुँ’ उनले भनिन्।
चामल मात्रै होइन, उनले पिठो, दाल, चिनी लगायतका खाद्यान्न पनि अन्य समयमा भन्दा धेरै नै भण्डारण गरेको स्वीकार गर्छिन्। सामानको अभाव हुँदा व्यापारीहरुले समेत कालोबजारी गर्न सक्ने भएकाले आफू सजग भएको उनको दावी छ। आफूले मात्रै नभई अन्य साथीहरुले पनि केही बढी मात्रामा खाद्यान्नको जोहो गरेको उनले जानकारी दिइन्।
उता व्यापारीहरुले पनि उपभोक्ताहरुले अभावको त्रासका कारण धेरै खाद्यान्न खरिद गर्ने गरेको बताउँछन्। शान्तिनगरस्थित गणेश स्टोरका रमन श्रेष्ठले अन्य सामान्य समयमा थोरै थोरै खाद्यान्न खरिद गर्ने आफ्ना ग्राहकहरुले नै यतिखेर धेरै धेरै सामानहरु खरिद गर्ने गरेको बताउँछन्।
‘खासगरी चामल, दाल, तेल, चिनी, पिठो बढी मात्रामा खपत भएको छ, सामान्यतः हप्तामा एक पटक सामान ल्याउने मैले गएको हप्ता ३ पटक ल्याइसकेँ,’ श्रेष्ठले भने। कतिपय उपभोक्ताले सामानको अभाव त हुँदैन नि ? भनेर आफूसित बेलाबेलामा सोध्ने गरेको पनि उनले बताए।
उपभोक्ताहरुमा सामानको अभाव हुने त्रास बढेका बेला वाणिज्य तथा आपूर्ति व्यवस्था विभागले भने उपत्यकामा खाद्यान्नको अभाव नहुने जनाएको छ। विभिन्न व्यवसायीहरुसित भएको खाद्यान्नले ३ महिनासम्म पुग्ने भन्दै विभागले उपभोक्तालाई नडराउन आग्रह गरेको हो। विभागका प्रवक्ता हरिनारायण बेल्बासेले केही दिन खाद्यान्न आपूर्तिमा समस्या रहेको स्वीकार गर्दै डराउनुपर्ने स्थिति नरहेको उल्लेख गरे।
उता खाद्य संस्थानले पनि खाद्यान्नको अभाव नरहेको स्पष्ट पारेको छ। खाद्य संस्थानका विक्री वितरण विभाग प्रमुख श्रीमणिराज खनालले संस्थानसित आवश्यक मात्रामा खाद्यान्नको मौज्दात रहेको बताए। संस्थानका उपत्यकाका विभिन्न गोदामहरुमा २ लाख ९४ हजार क्विन्टल खाद्यान्न रहेको उनले जानकारी दिए।
खाद्यान्नमा चामल र गहुँ प्रयाप्त रहेको तथा गेडागुडी पनि रहेको उनले बताए। ‘आवश्यक परेको खण्डमा संस्थानसित पनि खाद्यान्न रहेको छ, त्यसकारण उपभोक्ता आत्तिनुपर्ने स्थिति रहँदैन’ उनले भने।
व्यवसायी र संस्थानसित भण्डारण भएको खाद्यान्नको परिमाण प्रयाप्त भएकाले नआत्तिन सम्वन्धित पक्षले उपभोक्तालाई आग्रह गरेका छन्।






