काठमाडौँ । सर्वोच्च अदालतले नेकपा खारेज गरी एमाले र माओबादी ब्यूँताइदिएपछि पनि एमालेमै बस्ने निर्णय गरेका गृहमन्त्री राम बहादुर थापा बादललाई एमालेले उपाध्यक्ष पद दिने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको विवाद उत्कर्षमा पुगेका बेला आफ्नो पक्षमा लागेका पूर्वमाओवादी केन्द्रका नेताहरूलाई एमालेमा सम्मानजनक स्थान दिने तयारी गरे अनुरूप बादललाई उपाध्यक्ष दिने तयारी भएको हो ।
एमालेका उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, विद्या भण्डारी, वामदेव गौतम र युवराज ज्ञवालीमध्ये अहिले भण्डारी राष्ट्रपति भएको कारण उहाँको ठाँउमा बादललाई राख्ने तयारी भएको जनाइएको छ ।
एमाले उपमहासचिव बिष्णु पौडेलले संकटका बेला ओलीलाई साथ दिने माओवादी केन्द्रका अन्य नेताहरूलाई पनि उचित स्थान दिने बताए ।
पूर्व माओबादीबाट बादल सहित, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरीशंकर चौधरी, दावा लामा, मणि थापा लगायतका नेताहरु आफ्नो सांसद् पद नै गुम्ने भएपनि ओलीलाई नै साथ दिने बताएका छन् ।
उहाँहरूले आफ्नो सांसद पद नै धरापमा राखेर संकट परेका बेला नेपाली कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन योगदान दिनुभयो। सांसद पदसमेत त्याग गर्न तयार राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभाका उहाँहरूलाई हामी उचित र सम्मानजनक स्थान दिन्छौं,’ पौडेलले भने ।
उनले पूर्वमाओबादी नेताहरुलाई सरप्राइज हुनेगरी पद दिइने बताए ।






