कुवेतमा ४४ वर्षिय नेपाली महिलाको निधन

काठमाडौँ । ताप्लेजुङकी एक महिलाको कुवेतमा निधन भएको छ । साँघु गाउँपालिका १ ताप्लेजुङ स्थायी घर भइ धरानमा बसोबास गर्दै आएकी ४४ वर्षिय देवी माया लिम्बुको उपचारको क्रममा ७ मार्च आइतवारको दिन निधन भएको हो।

करिब अढाइ वर्षपहिले कुवेतमा घरेलु कामदारको रूपमा आएकी देवी माया स्पोन्सरको घरबाट बाहिर निस्केर अवैधानिक रूपमा काम गर्दै आएकी थिइन् ।

कुवेतमा २०१५ पश्चात् घरेलु कामदारको रुपमा नेपाली कामदार पठाउन नेपाल सरकारले इजाजत नदिए पनि भारत, श्रीलंका तथा बाङ्लादेश लगाएत अन्य देशको घुमाउरो बाटोबाट म्यानपावर एजेन्टहरुले घरेलु कामदार कुवेत ल्याउँने गरेका छन्।

देवी माया पनि नेपालबाट भारतको बाटो हुँदै कुवेत आएको बुझिएको छ । गत जनवरी ३१ तारिक नेपाली राजदूतावासबाट ट्राभल डकुमेन्ट बनाई डिपोर्टेसन प्रर्कियाबाट नेपाल फर्किन डिपोर्टेसन सेन्टर पुगिसकेकी देवी माया अचानक सिकिस्त बिरामी परेपछि कुवेत प्रहरीले अस्पतालमा पुराएको थियो ।

उता देवी मायाका श्रीमानको पनि मृत्यु भैसकेको छ भने घरमा दुई छोरा र एक छोरी रहेका छन् ।

घटना बारे कुवेतस्थित नेपाली राजदूतावाससँग सम्पर्क गर्दा घटनाको जानकारी प्राप्त भैसकेको र मृतकको स्पोन्सर पनि सम्पर्क गरी कुराकानी भइरहेको हुँदा अब आवश्यक कानुनी प्रक्रिया पुरा मृतकको शव छिट्टै स्वदेश पठाउन पहल गरिने दुतावास स्रोतले बताएको छ ।

अवैधानिक रूपमा काम गर्ने नेपालीहरुले विभिन्न किसीमका समस्या भोग्दै आएका छन् ।